कैलालीमा ४० ग्रामभन्दा बढी खैरो हिरोइनसहित १० जना पक्राउ

Image

जिल्ला प्रहरी कार्यालय कैलालीले ठूलो परिमाणको लागूऔषध खैरो हिरोइनसहित १० जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार जिल्लाका विभिन्न स्थानबाट सञ्चालन गरिएको विशेष अपरेसनका क्रममा कुल ४० ग्राम ५९० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ। सोही लागूऔषधसहित १० जनालाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय कैलाली, मातहतका प्रहरी कार्यालयहरू तथा लागूऔषध नियन्त्रण ब्यूरोको शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष निगरानी र खोजतलासका क्रममा उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूको विस्तृत परिचय सार्वजनिक नगरिएको भए पनि उनीहरूमाथि लागूऔषध कारोबार तथा ओसारपसारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाले बरामद लागूऔषध र पक्राउ परेकाहरू सम्बन्धमा अनुसन्धान जारी रहेको जानकारी दिए।

प्रहरीले पछिल्लो समय लागूऔषध नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्दै आएको छ। कैलालीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा लागूऔषध ओसारपसार तथा कारोबारमा संलग्न व्यक्तिहरूमाथि निगरानी बढाइएको जनाएको छ।