सुगंगा स्मृति कोष, बागलुङले ‘सुगंगा पुरस्कार–२०८३’ पत्रकार हरिनारायण गौतमलाई प्रदान गर्ने निर्णय गरेको छ। कोषको हालै सम्पन्न बैठकले ढोरपाटन सञ्चार प्रालिद्वारा प्रकाशित ढोरपाटन राष्ट्रिय दैनिक का प्रधान सम्पादक गौतमलाई नगद राशिसहित सम्मानपत्र प्रदान गर्ने निर्णय गरेको हो।
कोषका अध्यक्ष काजी रोशनका अनुसार पुरस्कार आगामी असार १८ गते आयोजित विशेष कार्यक्रममा प्रदान गरिनेछ। तीन दशक बढी समयदेखि पत्रकारितामा सक्रिय रहँदै बागलुङ, साविक धौलागिरी क्षेत्र तथा समग्र गण्डकी प्रदेशका समसामयिक मुद्दा, विकास निर्माण र जनचासोका विषयलाई निरन्तर उजागर गर्दै आएको योगदानको कदरस्वरूप गौतमलाई सम्मान गर्न लागिएको हो।
वि.सं. २०५१ सालदेखि पत्रकारिता क्षेत्रमा प्रवेश गरेका गौतमले श्री धौलागिरी साप्ताहिक, धौलागिरी स्टार साप्ताहिक, न्यू धौलागिरी दैनिक, राष्ट्रिय राजधानी दैनिक, नेपाल समाचारपत्र दैनिक, नेपाल, हिमाल तथा समय साप्ताहिक लगायतका सञ्चारमाध्यममा कार्य अनुभव हासिल गरेका छन्। हाल उनी ढोरपाटन राष्ट्रिय दैनिक का प्रधान सम्पादक तथा धौलागिरी एफएम का अध्यक्षका रूपमा कार्यरत छन्।
पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानका लागि गौतम यसअघि पनि विभिन्न राष्ट्रिय तथा स्थानीय पुरस्कार र सम्मानबाट सम्मानित भइसकेका छन्।
वरिष्ठ पत्रकार स्वर्गीय बिदुर खड्काले आफ्नी आमा सुमित्रा खड्का र पत्नी गंगाको स्मृतिमा स्थापना गरेको सुगंगा स्मृति कोषमार्फत वि.सं. २०६६ सालदेखि यो पुरस्कार वितरण हुँदै आएको छ। श्रीमती गंगाको २०६५ सालमा निधन भएपछि खड्काले कोष स्थापना गरी साहित्य, पत्रकारिता तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति एवं संस्थालाई प्रत्येक दुई वर्षमा सम्मान गर्ने परम्परा सुरु गरेका थिए।
यसअघि यो पुरस्कारबाट राष्ट्रिय समाचार समिति (रासस) का तत्कालीन प्रधान सम्पादक एकराज पाठक तथा एबीसी टेलिभिजनका प्रधान सम्पादक शुभशंकर कँडेललगायत विभिन्न व्यक्तित्व सम्मानित भइसकेका छन्।
अध्यक्ष रोशनका अनुसार कोषमा हाल करिब चार लाख रुपैयाँ रहेको छ। उक्त रकमबाट प्राप्त ब्याजमार्फत पुरस्कारको नगद राशि तथा सम्मानपत्र प्रदान गरिँदै आएको छ। उनले साहित्य, पत्रकारिता र सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई आगामी दिनमा पनि सम्मान गर्ने परम्परा निरन्तर रहने बताए।















