भक्तपुरमा बर्डफ्लु पुष्टि, ४८ हजारभन्दा बढी कुखुरा नष्ट

Image

भक्तपुरका विभिन्न कुखुरा फार्ममा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण पुष्टि भएपछि ४८ हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ।

पशु सेवा कार्यालयका अनुसार चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लु संक्रमण देखिएपछि रोग नियन्त्रणका लागि ठूलो संख्यामा कुखुरा नष्ट गरिएको हो।

पशु सेवा कार्यालयका पशु चिकित्सक डा. अमिक श्रेष्ठका अनुसार चाँगुनारायण नगरपालिका–२, ८ र ९ का फार्महरूमा संक्रमण पुष्टि भएपछि ३८ हजार ७९५ कुखुरा नष्ट गरिएको छ।

त्यसैगरी सूर्यविनायक नगरपालिका–१, ४ र ८ मा रहेका कुखुरा फार्ममा संक्रमण फैलिएको पाइएपछि नौ हजार ३७८ कुखुरा नष्ट गरिएको उनले जानकारी दिए।

हालसम्म भक्तपुर जिल्लामा कुल ४८ हजार १७३ कुखुरा नष्ट गरिएको कार्यालयले जनाएको छ। बर्डफ्लु रोग फैलिन नदिन संक्रमित फार्मका सबै कुखुरा तथा जोखिमयुक्त क्षेत्रका आवश्यक सामग्री व्यवस्थापन गरी नियन्त्रणका उपाय अवलम्बन गरिएको छ।

पशु सेवा कार्यालयले किसानलाई कुखुरामा अस्वाभाविक मृत्यु, बिरामी हुने वा संक्रमणका लक्षण देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ। साथै रोग थप फैलिन नदिन निगरानी र नियन्त्रणका गतिविधि तीव्र बनाइएको जनाइएको छ।