भेनेजुएलामा विनाशकारी भूकम्प : मृत्यु हुनेको संख्या ३२ पुग्यो, ७०० भन्दा बढी घाइते

Image

भेनेजुएलामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ३२ पुगेको छ। देशकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले सार्वजनिक गरेको पहिलो आधिकारिक विवरणअनुसार भूकम्पका कारण ७०० भन्दा बढी व्यक्ति घाइते भएका छन्।बुधबार केही सेकेन्डको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडका दुईवटा शक्तिशाली भूकम्प गएपछि राजधानी काराकास तथा आसपासका क्षेत्रमा ठूलो धनजनको क्षति भएको छ। भूकम्पका कारण दर्जनौं भवनहरू भत्किएका छन् भने उद्धार तथा राहत कार्यलाई तीव्र बनाइएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले प्रारम्भिक मूल्याङ्कनमा यस भूकम्पबाट मृत्यु हुनेको संख्या अझै उल्लेखनीय रूपमा बढ्न सक्ने चेतावनी दिएको छ। संस्थाले प्रभावित क्षेत्रको क्षतिको स्तरलाई अत्यन्त गम्भीर मानेको छ।राजधानी काराकासमा उद्धार टोलीहरूले भत्किएका भवनका भग्नावशेष हटाउँदै जीवित व्यक्तिको खोजी गरिरहेका छन्। उद्धारकर्मीहरूका अनुसार भग्नावशेषभित्र फसेका मानिसहरूको आवाज सुनिएकाले खोज तथा उद्धार अभियानलाई थप तीव्र पारिएको छ।

भूकम्पका कारण राजधानीका अधिकांश क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ भने भूमिगत रेल सेवा पूर्ण रूपमा बन्द गरिएको छ। सञ्चार तथा यातायात सेवामा समेत व्यापक असर परेको अधिकारीहरूले जनाएका छन्।स्थानीय समयअनुसार राष्ट्रिय बिदाको दिन साँझतिर भूकम्प गएका कारण अधिकांश नागरिक घरभित्रै रहेकाले मानवीय क्षति बढेको अनुमान गरिएको छ। भूकम्पको धक्का छिमेकी देश कोलम्बियाको राजधानी बोगोटासम्म महसुस भएको बताइएको छ।सरकारले प्रभावित क्षेत्रमा आपत्कालीन सहायता परिचालन गर्दै घाइतेहरूको उपचार, विस्थापित नागरिकको व्यवस्थापन तथा थप जोखिम न्यूनीकरणका लागि आवश्यक कदम चालिरहेको जनाएको छ।