पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी प्रेमिका जर्जिना रोड्रिगेज विवाह गरेका छन्। दुवैले अगस्ट ११ मा पोर्चुगलको कास्काइसमा विवाह गरेको पुष्टि गरेका हुन्। विवाहमा उनका पाँचै सन्तान उपस्थित रहेको भनेर स्पेनी खेलकुद अखबार मार्काले जनाएको छ।
विवाहमा रोनाल्डो र जर्जिनाका अत्यन्त नजिकका आफन्तहरू मात्रै सहभागी भएको बताइएको छ। विवाह रोनाल्डोको आफ्नै निवासमा भएको समाचार संस्था एसोसिएटेड प्रेस (एपी)ले जनाएको छ। यसको मुख्य कारण समारोहलाई पूर्ण रूपमा निजी राख्ने चाहना हुन सक्ने बताइएको छ। रोनाल्डोको निवास कास्काइसको अत्यन्तै महँगो र विशेष क्षेत्र क्विन्टा दा मारिन्हामा रहेको छ। उनले उक्त घर सुरुदेखि नै निर्माण गराएका हुन्, जसलाई पूरा गर्न तीन वर्षभन्दा बढी समय लागेको थियो।
करिब १२ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको छ। आफ्नै निजी निवासमा विवाह गर्दा सञ्चारमाध्यम र क्यामेराबाट टाढा रहेर समारोह गर्न सहज हुने भएकाले त्यहीँ विवाह गरिएको हुन सक्ने मार्काले जनाएको छ। रोनाल्डो र जर्जिनाको विवाह उनीहरूको इन्गेजमेन्ट गरेको ठीक एक वर्षपछि भएको हो। रोनाल्डो र जर्जिना पछिल्लो एक दशकदेखि सम्बन्धमा छन्। उनीहरूको भेट म्याड्रिडमा भएको थियो। जर्जिनाले गत वर्ष अगस्ट ११ मा रोनाल्डोसँग इन्गेजमेन्ट भएको सार्वजनिक गरेकी थिइन्।
जर्जिनाले सन् २०२५ अगस्ट ११ मा सामाजिक सञ्जालमार्फत रोनाल्डोसँग इन्गेजमेन्ट भएको सार्वजनिक गरेकी थिइन्। त्यसयता उनीहरूका समर्थकले विवाहको मिति र स्थानबारे चासो राख्दै आएका थिए। रोनाल्डोले विश्वकपपछि विवाह गर्ने इच्छा रहेको बताएका थिए, तर उनले निश्चित मिति सार्वजनिक गरेका थिएनन्। त्यसपछि विवाहलाई लिएर विभिन्न अनुमान र चर्चा हुँदै आएको थियो।
सन् २०२६ को अगस्टका पहिलो दुई शनिबार पनि रोनाल्डो र जर्जिनाको विवाह हुन सक्ने सम्भावित मितिका रूपमा चर्चामा थिए। विवाहस्थलबारे समेत विभिन्न दाबी सार्वजनिक भएका थिए। कतिपय प्रशंसक त रोनाल्डो र जर्जिनाको विवाह भएको ठानेर एउटा विवाह समारोहस्थल नजिकै समेत पुगेका थिए। तर उक्त समारोह उनीहरूसँग सम्बन्धित नभएको पछि खुलेको थियो।
४१ वर्षीय रोनाल्डो पाँच पटक विश्वका उत्कृष्ट फुटबलर घोषित भइसकेका छन्। उनले हालै पोर्चुगलका लागि कीर्तिमानी छैटौँ विश्वकप खेलेका थिए। साउदी क्लब अल नासरबाट व्यावसायिक फुटबल खेलिरहेका रोनाल्डोको टोलीले शनिबार घरेलु सिजन सुरु गर्दैछ।














