विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता फिफा विश्वकप केवल एउटा खेल प्रतियोगिता मात्र होइन, यो विश्वभरका अर्बौं मानिसलाई एउटै भावनामा जोड्ने उत्सव पनि हो। प्रत्येक चार वर्षमा आयोजना हुने यो प्रतियोगिताले अविस्मरणीय गोल, ऐतिहासिक कीर्तिमान, भावनात्मक फाइनल, अप्रत्याशित नतिजा र महान खेलाडीहरूको कथा बोकेको छ ।
सन् २०२६ को विश्वकपप्रति उत्साह बढ्दै जाँदा प्रतियोगिताको इतिहास, रोचक तथ्य र अविस्मरणीय क्षणबारे चासो पनि बढेको छ। आउनुहोस्, विश्वकपका केही रोचक तथ्यहरू जानौं ।
ब्राजिल सबैभन्दा सफल टोली
विश्वकपको इतिहासमा ब्राजिल सबैभन्दा सफल राष्ट्र हो। ब्राजिलले हालसम्म ५ पटक विश्वकपको उपाधि जितेको छ। साथै, सन् १९३० देखि आयोजना भएका सबै संस्करणमा सहभागिता जनाउने एकमात्र राष्ट्र पनि ब्राजिल नै हो ।
हराएको विश्वकप ट्रफी कुकुरले फेला पारेको थियो
सन् १९६६ मा इंग्ल्यान्डमा विश्वकप आयोजना हुनुअघि मूल जुल्स रिमे ट्रफी चोरी भएको थियो। धेरै दिनसम्म प्रहरीले खोज्दा पनि ट्रफी भेटिएन ।पछि ‘पिकल्स’ नामको कुकुरले बगैंचाको झाडीमुनि लुकाइएको ट्रफी फेला पार्यो। त्यसपछि पिकल्स राष्ट्रिय नायक बनेको थियो ।
सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी
ब्राजिलका महान खेलाडी पेले ले सन् १९५८ को विश्वकपमा १७ वर्ष २३९ दिन को उमेरमा गोल गर्दै इतिहास रचेका थिए । उनी आजसम्म विश्वकप इतिहासका सबैभन्दा कान्छा गोलकर्ता हुन् ।
विश्वकप इतिहासकै सबैभन्दा छिटो गोल
टर्कीका हाकान सुकुर ले सन् २००२ को विश्वकपमा दक्षिण कोरियाविरुद्ध खेल सुरु भएको ११ सेकेन्डमै गोल गरेका थिए । यो विश्वकप इतिहासकै सबैभन्दा छिटो गोल मानिन्छ ।
मेसी र रोनाल्डोका ऐतिहासिक कीर्तिमान
पोर्चुगलका क्रिस्टियानो रोनाल्डो विश्वकपका ६ वटा लगातार विश्वकपमा गोल गर्ने पहिलो पुरुष खेलाडी बनेका थिए। उनी सन् २०२६ मा आफ्नो छैटौं विश्वकप खेलिरहेका छन् ।
त्यस्तै, अर्जेन्टिनाका लियोनल मेसी सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । विश्वकप इतिहासमा आफ्नो कुल गोल संख्या १८ पुर्याएका छन् ।
पहिलो विश्वकप
पहिलो फिफा विश्वकप सन् १९३० मा उरुग्वे मा आयोजना भएको थियो । त्यसबेला केवल १३ टोली सहभागी भएका थिए। फाइनलमा उरुग्वेले अर्जेन्टिनालाई ४–२ ले पराजित गर्दै पहिलो विश्वविजेता बनेको थियो ।
लगातार दुई पटक उपाधि जित्ने राष्ट्र
विश्वकप उपाधि लगातार दुई पटक जित्न सफल राष्ट्रहरू केवल दुईवटा मात्र छन् ।
इटाली – १९३४ र १९३८
ब्राजिल – १९५८ र १९६२
विश्वकपका महान गोलकर्ता
जर्मनीका मिरोस्लाभ क्लोजे लामो समयसम्म १६ गोलसहित विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता थिए। सन् २०२६ मा लियोनल मेसी ले १८ गोल पूरा गर्दै नयाँ कीर्तिमान कायम गरेका छन् ।
तीन पटक विश्वकप जित्ने एकमात्र खेलाडी
पेले विश्वकप इतिहासमा खेलाडीका रूपमा तीन पटक (१९५८, १९६२ र १९७०) विश्वकप जित्ने एकमात्र खेलाडी हुन् ।
सबैभन्दा पाका खेलाडी
इजिप्टका गोलरक्षक इसाम एल-हदारी ले सन् २०१८ को विश्वकपमा ४५ वर्ष १६१ दिन को उमेरमा मैदान उत्रिएर सबैभन्दा पाका खेलाडी बन्ने कीर्तिमान बनाए। उनले सो खेलमा पेनाल्टी समेत बचाएका थिए ।
इतिहासकै सबैभन्दा बढी कार्ड देखाइएको खेल
सन् २००६ को विश्वकपमा पोर्चुगल र नेदरल्यान्ड्सबीच भएको खेललाई ‘द ब्याटल अफ न्युरेम्बर्ग’ भनेर चिनिन्छ । त्यो खेलमा रेफ्रीले १६ वटा पहेंलो कार्ड र ४ वटा रातो कार्ड देखाएका थिए, जुन विश्वकप इतिहासकै सबैभन्दा धेरै कार्ड देखाइएको खेल हो ।
एकै खेलमा पाँच गोल
रुसका ओलेग सालेन्को ले सन् १९९४ मा क्यामरुनविरुद्धको एकै खेलमा ५ गोल गरेका थिए । यद्यपि उनको टोली समूह चरणबाटै बाहिरिएको थियो, उनले गोल्डेन बुट पुरस्कार जितेका थिए ।
दोस्रो विश्वयुद्धमा ट्रफी जोगाउने उपाय
दोस्रो विश्वयुद्धका क्रममा फिफाका उपाध्यक्ष ओटोरीनो बारासी ले विश्वकप ट्रफी चोरी हुन नदिन आफ्नै घरको ओछ्यानमुनि जुत्ताको बाकसमा लुकाएर सुरक्षित राखेका थिए ।
सबैभन्दा धेरै दर्शक उपस्थित भएको फाइनल
सन् १९५० को विश्वकप फाइनल ब्राजिलको मराकाना स्टेडियम मा भएको थियो । उक्त खेलमा आधिकारिक रूपमा १ लाख ७३ हजार ८५० दर्शक उपस्थित थिए भने केही अनुमानअनुसार संख्या २ लाखभन्दा बढी पुगेको थियो ।
विश्वकै सबैभन्दा धेरै हेरिने खेल प्रतियोगिता
सन् २०२२ को विश्वकप फाइनल (अर्जेन्टिना विरुद्ध फ्रान्स) विश्वभर १.५ अर्बभन्दा बढी दर्शकले हेरेका थिए, जसले यसलाई विश्वकै सबैभन्दा धेरै हेरिने खेलकुद प्रतियोगितामध्ये एक बनाएको छ ।
विश्वकप २०२६ : नयाँ युगको सुरुवात
सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिको ले संयुक्त रूपमा आयोजना गरिरहेका छन् । यस संस्करणमा पहिलो पटक ४८ टोली सहभागी भएका छन्, जसले विश्वकप इतिहासकै सबैभन्दा ठूलो प्रतियोगिताको रूप लिएको छ ।















