सह–आयोजक क्यानडाले दक्षिण अफ्रिकामाथि रोमाञ्चक जित निकाल्दै फिफा विश्वकप–२०२६ को प्रिक्वार्टरफाइनल (अन्तिम १६) मा स्थान सुरक्षित गरेको छ।
अमेरिकाको लस एन्जलसस्थित रंगशालामा गएराति सम्पन्न पहिलो नकआउट खेलमा क्यानडाले दक्षिण अफ्रिकालाई १–० गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको हो।
खेलभर दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा धकेलिने अनुमान गरिएको थियो। तर, इन्जुरी समयमै स्टेफेन युस्टाकियोले गरेको उत्कृष्ट गोल क्यानडाको जितका लागि निर्णायक बन्यो।
निर्णायक गोल गरेका युस्टाकियोलाई उत्कृष्ट प्रदर्शनका लागि ‘प्लेयर अफ द म्याच’ घोषित गरिएको छ।
सह–आयोजक क्यानडा यसअघि दुईपटक विश्वकप खेले पनि दुवै संस्करणमा समूह चरणबाटै बाहिरिएको थियो। यसपटक भने टोलीले इतिहास रच्दै पहिलोपटक नकआउट चरण पार गर्दै अन्तिम १६ मा स्थान बनाएको हो।
क्यानडा समूह ‘बी’ को उपविजेताका रूपमा नकआउट चरणमा पुगेको थियो भने दक्षिण अफ्रिका समूह ‘ए’ को उपविजेता बन्दै अन्तिम ३२ मा पुगेको थियो। अब क्यानडाले क्वार्टरफाइनल प्रवेशका लागि अर्को चुनौतीपूर्ण प्रतिस्पर्धा खेल्नेछ।















