पाकिस्तानले अफगानिस्तानभित्र पुनः हवाई आक्रमण गरेको दाबी गर्दै उक्त कारबाहीमा २९ जना ‘आतंककारी’ मारिएको जनाएको छ। तर, अफगानिस्तानको तालिबान सरकारले भने आक्रमणमा सर्वसाधारण, महिला र बालबालिका प्रभावित भएको आरोप लगाएको छ।
पाकिस्तानका सरकारी अधिकारीहरूका अनुसार सुरक्षाबलले गोप्य सूचनाका आधारमा आइतबार राति अफगानिस्तानभित्र सैन्य अभियान सञ्चालन गरेको थियो। पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अत्ताउल्लाह तरारले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा सेनाले डुरान्ड रेखा नजिक योजनाबद्ध स्थलगत अभियान सञ्चालन गरेपछि जमात–उल–अहरार र तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) का शिविर तथा ठेगानामा लक्षित हवाई आक्रमण गरिएको उल्लेख गरेका छन्।
तरारका अनुसार खैबर पख्तुनख्वाको बाजौर क्षेत्रमा सञ्चालन गरिएको स्थलगत कारबाहीमा ‘आतंककारी’ कमाण्डर खान फ्रोस (जबाल) सहित जमात–उल–अहरारका अन्य तीन सदस्य मारिएका छन् भने अन्य केही घाइते भएका छन्। पाकिस्तानले समग्र अभियानमा २९ जना लडाकु मारिएको दाबी गरेको छ।
यता, अफगानिस्तानको तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने पाकिस्तानी आक्रमणले सर्वसाधारणलाई निशाना बनाएको आरोप लगाएका छन्। उनका अनुसार आक्रमणमा महिला र बालबालिकासमेत मारिएका तथा घाइते भएका छन्। उनले घटनाको कडा निन्दा गर्दै यसलाई ‘कायरतापूर्ण’ कार्यको संज्ञा दिएका छन्।
बीबीसीका अनुसार पाकिस्तानी हवाई आक्रमण अफगानिस्तानको कुनार प्रान्तको पूर्वी क्षेत्र तथा पक्तिया र पक्तिका प्रान्तका चामकानी र ज्ञान जिल्लामा गरिएको थियो। सबैभन्दा बढी क्षति पक्तिया प्रान्तको मण्डीखेल गाउँमा भएको बताइएको छ। तालिबान सरकारका सुरक्षा स्रोतलाई उद्धृत गर्दै बीबीसीले त्यहाँ करिब १०० जना मारिएका वा घाइते भएको जनाएको छ।
यद्यपि, पाकिस्तान र तालिबान सरकारका दाबीहरू एकअर्कासँग बाझिएका छन्। घटनामा कति क्षति भयो र को–को प्रभावित भए भन्ने विषयमा स्वतन्त्र स्रोतबाट पुष्टि हुन सकेको छैन।















