अमेरिकी डलरको तुलनामा जापानी येन ४० वर्षयताकै कमजोर, लगानीकर्ता चिन्तित

Image

अमेरिकी डलरको तुलनामा जापानी मुद्रा येनको मूल्य झण्डै चार दशकयताकै न्यून बिन्दुमा झरेको छ। इरानमा जारी युद्धको आर्थिक प्रभाव, बढ्दो मुद्रास्फीति र जापानको आर्थिक नीतिप्रति बढ्दो अनिश्चितताका कारण लगानीकर्ताको चिन्ता बढेसँगै येन थप कमजोर बनेको हो।फाइनान्सियल टाइम्सका अनुसार टोकियोमा मंगलबार बिहानको कारोबारका क्रममा येन सन् १९८६ डिसेम्बरयता पहिलोपटक प्रतिअमेरिकी डलर १६२ येनभन्दा तल झरेको छ। यससँगै सन् २०२६ को सुरुदेखि हालसम्म येनको मूल्यमा तीन प्रतिशतभन्दा बढी गिरावट आइसकेको छ।

येनको विनिमय दर प्रतिडलर १६२.२७ येनको न्यून बिन्दु नजिक पुगेपछि जापान सरकारले मुद्रा बजारमा पुनः हस्तक्षेप गर्न सक्ने अनुमान गरिएको छ। जापानका मुख्य क्याबिनेट सचिव मिनोरु किहाराले सरकार आवश्यक परे जुनसुकै बेला कदम चाल्न तयार रहेको दोहोर्‍याएका छन्।विश्लेषकहरूका अनुसार इरान–सम्बन्धी तनावका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्दा जापानमा मुद्रास्फीति नियन्त्रण गर्न थप चुनौती उत्पन्न भएको छ। अन्य विकसित मुलुकका केन्द्रीय बैंकको तुलनामा जापानको केन्द्रीय बैंक मौद्रिक नीति कडाइ गर्न ढिलो परेकाले पनि येनमाथि दबाब बढेको बताइएको छ।

सन् २०२४ को मध्यतिर पनि येन उल्लेखनीय रूपमा कमजोर बनेको थियो। तर अहिले देखिएको गिरावट त्यसयताकै सबैभन्दा ठूलो मानिएको छ।यसबीच जापानकी प्रधानमन्त्री सनई ताकाइचीले केही दिनअघि आर्थिक वृद्धि तीव्र बनाउन सार्वजनिक र निजी क्षेत्रको संयुक्त २३ खर्ब अमेरिकी डलर बराबरको १४ वर्षे लगानी योजना सार्वजनिक गरेकी थिइन्। तर उक्त योजनाको वित्तीय स्रोत र कार्यान्वयनको स्पष्ट खाका सार्वजनिक नभएकाले सरकार थप वित्तीय विस्तारतर्फ उन्मुख भएको भन्दै बजारमा चिन्ता बढेको छ।

यही आर्थिक अनिश्चितता, युद्धजन्य जोखिम र मौद्रिक नीतिप्रतिको आशंकाले जापानी येनको मूल्य झण्डै ४० वर्षयताकै कमजोर स्तरमा पुगेको विश्लेषण गरिएको छ।