घट्यो सुनको मूल्य

Image

दुई दिनमा तोलामा ५९ सय रुपैयाँ घटेको सुनको भाउ आज थप घटेको छ । सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँ घटेर २ लाख ७७ हजार ३ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ४५ सय र सोमबार १४ सय रुपैयाँ घटेको थियो। गएका तीन दिनमा सुनको भाउ तोलमा ६५ सय रुपैयाँ घटिसकेको छ । हिजो सुनको भाउ तोलाको २ लाख ७७ हजार ९ सय थियो । गएको आइतबार सुनको भाउ तोलामा ४ हजार ७ सय रुपैयाँ बढेको थियो ।

त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँ घटेर चाँदीको भाउ आज ४ हजार २ सय ७० रुपैयाँमा झरेको छ । गएको माघ १५ गते पनि सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो । नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो ।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो । चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो । माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो ।