चितवन राष्ट्रिय निकुञ्जमा भाले जंगली हात्ती ध्रुवेका बारेमा नसुन्ने कमै होलान् । त्यही हिंस्रक ध्रुवेले फेरि चितवनको भरतपुर महानगरपालिका वडा नं. २३ मा आमाछोराको ज्यान लिएको पुष्टि भएको छ ।
आमा छोरालाई आक्रमण गरेर भागेको ध्रुवे निकुञ्जको सुखीभार क्षेत्रमा पुगेको छ । शनिबार राति घरमै बसिरहेका बेला अचानक जंगलबाट आएको ध्रुवेले २१ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको ज्यान लिएको थियो ।
हात्ती धपाउन आशिकाका श्रीमानले आगो बाल्न खोज्दा घर नै जलेर नस्टसमेत भएको छ । भरतपुर महानगरपालिका वडानम्बर २३ का वडाध्यक्ष दीपक दवाडीका अनुसार जंगली हात्तीले घरमै आक्रमण गर्दा आमाछोराको घटनास्थलमै मृत्यु भएको हो।
यो घटनासँग ध्रुवेको आक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ पुगेको छ । २०७४ सालमा नेपाली सेनाका एक मेजरलाई आक्रमण गरेर मारेपछि ध्रुवेले झण्डै ९ वर्षपछि यी दुई आमा छोराको ज्यान लिएको हो । धेरै जसो निकुञ्जको सुखीभार क्षेत्रमा नै रहने यो हात्ती अचानक बस्तीतिर निस्केको थियो । कहिले मेघौलीतिरसमेत निस्कने गरेको स्थानीयहरुले बताउने गरेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी मान्छे मार्ने हात्तीका रुपमा परिचित ध्रुवेले २०६८/०६९ सालताका दैनिक जसो मान्छेको ज्यान लिन थालेपछि ०६९ सालको पुस १ गते चितवनका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले हात्ती मार्न आदेश दिएको थियो । तर, यो हात्ती सेनाको गोलीबाट बच्दै आएको छ । ध्रुवे हात्ती २०६९ सालको कात्तिकदेखि एक महिनाको अन्तरालमा माडीमा मात्रै चारजनाको लगातार ज्यान लिएपछि मार्ने निर्णय गरिएको थियो ।
वि.सं. २०६६ साल माघदेखि मान्छेलाई आक्रमण गरेर ज्यान लिन थालेको ध्रुवेले २०६९ सालसम्म १५ जनालाई मारेको थियो । चितवनको माडीमा यसको आतंक अत्याधिक थियो । यसलाई मार्नका लागि १६ लाख रुपैयाँ खर्च भयो । सेनाको गोलीबाट भागेको ध्रुवे एकाएक पाँच वर्ष वेपत्ता भयो । पछि फेरि निकुञ्जको सुखीभार क्षेत्रमा पुनः देखिन थाल्यो ।
ध्रुवेको घाँटीमा पटकपटक रेडियोकलर जडान गर्ने र दाह्रा काट्ने कामसमेत भयो । हात्तीलाई डार्ट (बेहोस) गराएर रेडियो कलर राख्नुका साथै उत्तेजना कम हुनका लागि माद रोकिने औषधि दिइएको थियो ।
पछिल्लो समयमा शान्त देखिएको ध्रुवे केही महिना अगाडि सौराहामा रोनाल्डोसँग भिड्न पुगेको थियो । त्यहाँ पराजित भएपछि सुखीभार क्षेत्रका निकुञ्जका अन्य पोथी हात्तीसँग नै यो भुल्दै आएको छ । निकुञ्जमा रोनाल्डो, गोविन्दे, ध्रुवेलगायतका जंगली भाले हात्ती छन् । निकुञ्जका पोथी हात्ती यिनै भाले हात्तीबाट प्रजनन् हुने गर्दछन् ।














