एर्लिङ हालान्डको दुई गोलमा पाच पटकको विश्व विजेता ब्राजिललाई २-१ ले पराजित गर्दे नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
चौथो पटक विश्वकप खेलिरहेको नर्वेले इतिहास रच्दै पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा स्थान बनाउँदा ब्राजिल भने ३६ वर्षपछि अन्तिम १६ बाटै बाहिरिएको छ ।
ब्राजिल यसअघि सन् १९९० मा अन्तिम १६ बाटै बाहिरिएको थियो । नर्वेले ब्राजिललाई विश्वकपमा दोस्रो पटक पराजित गरेको हो । यसअघि पछिल्लो पटक १९९८ मा विश्वकप खेलेको नर्वेले ब्राजिललाई २-१ ले नै पराजित गरेको थियो ।
यस्तै नर्वे ब्राजिलसँग अहिलेसम्म खेलेको सबै खेल (५)मा अपराजित छ । नर्वेले अब मेक्सिको र इंग्ल्यान्डबीचको खेलको विजेतासँग क्वाटरफाइनल खेल्नेछ ।














