गुल्मीमा सफारी जिप दुर्घटना: १६ वर्षीय किशोरको मृत्यु, तीन जना घाइते

Image

गुल्मीको रेसुङ्गा नगरपालिका–८ गजुरास्थित तम्घास–रेसुङ्गा सडकखण्डमा आज बिहान भएको सफारी जिप दुर्घटनामा एक किशोरको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

आज बिहान करिब २:३० बजे रेसुङ्गा पोखरीबाट तम्घासतर्फ आउँदै गरेको लु१ज १५२८ नम्बरको सफारी जिप दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएका रेसुङ्गा नगरपालिका–२ बाघमारे घर भई हाल बसपार्क बस्दै आएका १६ वर्षीय सुदिप नेपालीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रवीर विश्वकर्माका अनुसार सुदिपको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। उनलाई जिल्ला अस्पताल तम्घासमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पाल्पाको प्रभासस्थित मेडिकल कलेज रेफर गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका १७ वर्षीय अर्जुन बुढाथोकीको बाँया हातमा सामान्य चोट लागेको छ। उनी प्युठानको नौबहिनी गाउँपालिका–१ घर भई हाल रेसुङ्गा बसपार्कमा बस्दै आएका छन्।

त्यस्तै, बागलुङको भिमगिठ्ठे घर भई हाल रेसुङ्गा नगरपालिका–८ बसपार्क बस्ने १८ वर्षीय गणेश परियारको कोखा र बाँया खुट्टामा चोट लागेको छ भने रेसुङ्गा नगरपालिका–९ चारीखोलाका १८ वर्षीय आयुष गैरेको बाँया हातमा सामान्य चोट लागेको छ। उनीहरूको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनाग्रस्त सफारी जिपमा ६ जना सवार थिए। तीमध्ये दुई जना सकुशल रहेका छन्।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको भन्दै प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।