अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंक(एडीबी)का अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता भएको छ । सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भेटवार्ता भएको हो।
भेटमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालको विकासका लागि एसियाली विकास बैंकका तर्फबाट भएको सहयोग र लगानी परिचालनका लागि अध्यक्ष कान्डालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा निरन्तर सहयोगका लागि आग्रह गरे । अर्थमन्त्री डा.वाग्लेसँगको भेटमा अध्यक्ष कान्डाले नेपालको विकासका लागि सहकार्य आफूहरूको उच्च प्राथमिकतामा रहेको बताए ।
यस्तै एडीबीसँग नेपालले १६ करोड ५० लाख अमेरिकी डलर (२५ अर्ब रुपैयाँ बराबर) सहुलीयतपूर्ण ऋण लिनेसम्झाैता भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र कान्दाको उपस्थितिमा दुई आयोजनामा लगानी गर्न सो रकम बराबरको सहुलीयतपूर्ण ऋण लिनेबारे सोमबार सम्झौता भएको हो । सम्झौतामा अर्थसचिव डा. घनश्याम उपाध्याय र एडीबीका नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुश्वाले हस्ताक्षर गरे ।
नेपालले एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना र दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग तथा आपूर्ति व्यवस्थापन सुधार कार्यक्रम (सबप्रोगाम– २) का लागि सो ऋण परिचालन गर्न लागेको हो ।
अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता अमृत लम्सालका अनुसार ढल व्यवस्थापन सम्बन्धी आयोजनामा ११ करोड ५० लाख अमेरिकी डलर र आपूर्ति व्यवस्थापनसँग सम्बन्धित आयोजनामा ५ करोड अमेरिकी डलर ऋण लिइएको छ ।
स्थानीय तहका खानेपानी र ढल व्यवस्थापनको एकीकृत पूर्वाधार निर्माणमा यो रकम परिचालनको लक्ष्य छ । साथै भन्सार कार्यप्रक्रिया र लजिस्टिक सेवा आधुनिकीकरणमा दोस्रो ऋण सम्झौतावापतको रकम खर्च गरिने छ ।
कार्यक्रममा अर्थमन्त्री डा. वाग्लेले नेपालको विकासमा एसियाली विकास बैंकबाट प्राप्त सहायताको उच्च मूल्यांकन गर्दै आगामी दिनमा यो साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।
एसियाली विकास बैंकका अध्यक्ष कान्दाले नेपालसँगको ६ दशक लामो सहकार्यलाई निरन्तर र थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले नेपालको विद्यमान वाह्य तथा आन्तरिक चुनौतीहरुको सामना गर्न बैंक सँधै सहयोगी हुने र नेपालका विकास प्राथमिकतासँग बैंकको प्राथमिकता मेल खाने उल्लेख गरे । कार्यक्रममा नेपाल सरकार तथा एसियाली विकास बैंकका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।














