नेप्सेमा दोहोरो अंकको सुधार, परिसूचक २४.५७ अंकले बढ्दा कारोबार ४ अर्ब ४० करोड रुपैयाँ नाघ्यो

Image

साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक २४.५७ अंकले उकालो लागेर २६५१.६८ विन्दुमा पुगेर कारोबार बन्द भएको हो।परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। सोमबार ३ अर्ब ५५ करोड रुपैयाँको सेयर कारोबार भएकोमा मंगलबार बढेर ४ अर्ब ४० करोड रुपैयाँ पुगेको छ।

यस दिन ३५२ वटा धितोपत्रका ९५ लाख १९ हजार ४५२ कित्ता सेयर खरिद–बिक्री भएका छन्। कारोबारमा सहभागी कम्पनीमध्ये २१० वटाको सेयर मूल्य बढेको, ५७ वटाको घटेको तथा १० वटाको मूल्य स्थिर रहेको छ।मंगलबार कालंगा हाइड्रोको सेयर मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशतले बढेर प्रतिकित्ता ५१६ रुपैयाँ ४० पैसा पुगेको छ। त्यसैगरी, आरबीबी फोकस–४० योजनाको इकाइ मूल्य १३.८५ प्रतिशतले बढेर १० रुपैयाँ ३६ पैसा कायम भएको छ।

यता, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै १३.७८ प्रतिशतले घट्दै प्रतिकित्ता ५ हजार ८६० रुपैयाँमा झरेको छ।कारोबार रकमका आधारमा मंगलबार १० प्रतिशत केबीएल डिबेन्चर २०९० सबैभन्दा अगाडि रह्यो। उक्त डिबेन्चर प्रतिकित्ता १ हजार २१५ रुपैयाँमा २० करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यसको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ०.८२ प्रतिशतले घटेको हो।

दोस्रो सर्वाधिक कारोबार १०.३५ प्रतिशत एग्रिकल्चर बैंक डिबेन्चर २०८३ को भएको छ। उक्त डिबेन्चर प्रतिकित्ता १ हजार ८४ रुपैयाँ ९० पैसामा १७ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।समूहगत परिसूचकतर्फ कारोबारमा आएका १३ वटै समूहको सूचक हरियालीमा बन्द भएका छन्। तीमध्ये व्यापार समूहको परिसूचक सबैभन्दा धेरै १.८९ प्रतिशतले बढेको छ।

लगानीकर्ताको उत्साहसँगै परिसूचक, कारोबार रकम र अधिकांश कम्पनीको सेयर मूल्यमा सुधार देखिएपछि मंगलबार सेयर बजार समग्रमा सकारात्मक बनेको छ।