नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको भोलिपल्ट पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गिरावट कायम रहेको छ। बुधबार नेप्से परिसूचक ३०.०९ अंकले घटेर २६२१.५९ विन्दुमा बन्द भएको हो।
यस दिन नेप्सेमा कुल ४ अर्ब ८२ करोड ६० लाख ८४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घट्दा लगानीकर्ताको मनोबल कमजोर देखिएको छ।
बुधबार कारोबार भएका कम्पनीमध्ये २५ वटा कम्पनीको सेयर मूल्य बढेको, २४७ वटा कम्पनीको सेयर मूल्य घटेको तथा ५ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
समूहगत कारोबारतर्फ म्युचुअल फन्ड समूह बाहेक सबै उपसूचक घटेका छन्। बैंकिङ, विकास बैंक, वित्त, जलविद्युत्, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, व्यापार, लगानी, लघुवित्त लगायतका सबै समूह राताम्मे बनेका छन्।
मौद्रिक नीतिपछि बजारमा सकारात्मक प्रतिक्रिया आउने अपेक्षा गरिए पनि त्यसको विपरीत नेप्सेमा थप गिरावट देखिएको हो। पछिल्ला दिनहरूमा बजार निरन्तर दबाबमा रहँदा लगानीकर्ताहरू मौद्रिक नीतिको प्रभाव र आगामी आर्थिक गतिविधिप्रति थप सतर्क देखिएका छन्।














