‘बालेनको पुलिस होइन, नेपाल पुलिस हो’ भनेका डीएसपी सोधपुछका लागि जिल्ला तानिए

Image

कैलालीका डिएसपी प्रसन्नराज चौधरीलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय बोलाइएको छ। ‘बालेनको पुलिस होइन, नेपाल पुलिस हुँ’ भन्ने अभिव्यक्ति दिएपछि उनलाई सोधपुछका लागि जिल्ला तानिएको हो। डिएसपी चौधरी इलाका प्रहरी कार्याय सुखडका प्रमुख हुन्।

उनले दिएको अभिव्यक्तिबारे सोधपुछ गरिने जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी नरेन्द्र चन्दले जानकारी दिए। डिएसपी चौधरीलाई अर्कै सन्दर्भमा बोलाइएको भए पनि यो विषयमा पनि सोधपुछ हुने एसपी चन्दले बताए। ‘अर्कै सन्दर्भमा सोधपुछ गर्न बोलाइएको हो। तर यो विषय पनि आएकाले यसमा पनि सोधपुछ गर्छौं,’ उनले भने।

अरू विषयवस्तु भने आन्तरिक रहेको उनले बताए। घोडाघोडी नगरपालिका–५ को दरखमा लागुऔषधसम्बन्धी सचेतनामुलक कार्यक्रममा चौधरीले सो अभिव्यक्ति दिएका थिए।

‘हामी बालेनको पुलिस पनि होइन, हामी नेपाल पुलिस हो। अन्याय अत्याचारमा परेकालाई न्याय दिलाउने नेपाल पुलिस हो। र केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो। त्यसकारण हामी नेपाल पुलिस हो,’ उनले भनेका थिए।

उनले आफूहरू चुनिएर भन्दा छानिएर आएको पनि बताएका थिए। ‘हामी सेलेक्टेड हौं। नट इलेक्टेड। भोट हालेर टिका लगाएर आएका हैनौं,’ त्यतिबेला उनले भनेका थिए।