अविरल वर्षापछि देशका विभिन्न क्षेत्रमा बाढी र पहिरोका कारण ८ वटा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने २ वटा सडकमा एकतर्फी सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार इलाम नगरपालिका–९ राजदुवालीमा पहिरो खस्दा मेची राजमार्गअन्तर्गत झापा–ताप्लेजुङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडक अवरुद्ध भएपछि सवारी साधनलाई वैकल्पिक मार्गबाट सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
यस्तै, सम्भावित बाढीको जोखिमका कारण बीपी राजमार्ग पनि हालका लागि अवरुद्ध गरिएको छ।
मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्याङडाँडामा पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ।
त्यसैगरी, अरनिको राजमार्ग, पोखरा–ताङतिङ सडक, घोराही–रुकुम शहीद मार्ग, सालझण्डी–ढोरपाटन सडक र मदन भण्डारी राजमार्ग पनि बाढी तथा पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।
यता, भोजपुरको मध्यपहाडी राजमार्ग र पाल्पाको सिद्धार्थ राजमार्गमा बाढी–पहिरोका कारण एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले प्रभावित सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाउन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।















