नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले आज (मंगलबार) दोषी ठहर भएका अभियुक्तहरूको सजाय निर्धारण गरेको छ।
सो अनुसार डा. इन्द्रजित राईलाई एकीकृततर्फ ४ वर्ष कैद र ४० हजार जरिबाना तोकिएको छ। ठगीमा दुई वर्ष कैद र २० हजार जरिबाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिबाना, राज्य विरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिबाना, सोही कसूरमा थप ६ महिना कैद तोकिएको हो।
राईको हकमा उनी ७५ वर्ष नाघेकाले उनको ७५ प्रतिशत सजाय छुट हुनेछ। अब उनले २ महिना १३ दिन कैद र जरिबाना भुक्तान गरे पुग्ने भएको छ ।
राईले पुर्पक्षमा बसेर ३ वर्ष २ महिना १० दिन भुक्तान गरिसकेका छन्। बाँकी ९ महिना २० दिन कैदको हकमा छुट पाउँदा ७ महिना ७ दिन कैद छुट हुने भएको हो ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले सजाय निर्धारण गरेको हो ।















