जापानविरुद्ध सहज जित निकाल्दै नेपाल सेमिफाइनलमा

Image

जापानविरुद्ध नौ विकेटको सहज जित निकाल्दै नेपाल एसीसी यू–१९ महिला प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

बुधबार मलेसियाको बायोमास ओभलमा जापानले प्रस्तुत गरेको ८७ रनको लक्ष्य नेपालले ११.२ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालकी सावित्री धामीले अविजित रहँदै ४१ रनको योगदान गरिन् । यसैगरी, कप्तान सोनी पाख्रिनले अविजित १८ र साना प्रविनले १८ रन बनाए ।

जापानकी ममता कास्वानले एक विकेट लिइन् । त्यसअघि टस जितेर ब्याटिङ रोजेको जापानले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ८६ रनको योगफल तयार पारेको थियो । जापानकी कप्तान बियन्का सिनोले अविजित ३८ रनको योगदान गरिन् ।

यसैगरी, अयान साकुराबा र किचो सुजुकीले १०–१० रन बनाए । नेपालका रिया शर्मा र क्रिस्मा गुरुङले दुई–दुई विकेट लिए । यसैगरी, अनु कडायत, मनिषा उपाध्याय र सोनी पाख्रिनले एक–एक विकेट लिए । 

नेपाल समूह ‘डी’को विजेता तथा जापान समूह ‘ए’को उपविजेताका रूपमा अगाडि बढेका हुन् । समूह चरणमा नेपालले शतप्रशित जित निकालेको थियो । नेपालले कतार, सिंगापुर र हङकङलाई हराएको थियो । यता, जापानले दुई खेल खेल्दा एक जित र एक हारको नतिजा निकालेको थियो । थाइल्यान्डसँग पराजित जापानले म्यानमारविरुद्ध जित दर्ता गरेको थियो ।