राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद खुश्बु ओलीलाई साइबर दुर्ब्यवहार गरेको आरोपमा दुई जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले आज पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रभुसन यादवका अनुसार सांसद ओली माथि सामाजिक सञ्जालबाट धम्की दिने तथा दुर्व्यवहार गरेको आरोपमा दुई जनालाई आज पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं. १६ घर भएका तेजेन्द्रप्रसाद पौडेल र बुटवल घर भई हाल नारायणगढमा व्यावसाय गरेर बस्ने अभि घिमिरेलाई पक्राउ गरिएको डीएसपी यादवले जानकारी दिए । पौडल राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता हुन् ।
उनीहरूविरुद्ध काठमाण्डौंमा साइबर अपराधमा परेको उजुरीलाई साइबर अपराध ब्यूरोले पहिचान गरेर चितवन पठाएपछि पक्राउ गरिएको हो ।पक्राउ परेकाहरूलाई विद्युतीय कारोबार ऐन अन्तर्गत म्याद थप गरी थप अनुसन्धान गरेर कारर्वाहीको प्रक्रिया अगाडि बढाइने डीएसपी यादवले जानकारी दिए ।














