काठमाडौं नयाँ बसपार्कको गेस्ट हाउसमा युवतीको हत्या

Image

काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसमा एक युवतीको हत्या भएको छ।

आइतबार नयाँ बसपार्कमा रहेको एक गेस्ट हाउसको कोठाभित्र २५ वर्षीया निशा सुनार मृत अवस्थामा भेटिएकी हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानबाट उनको हत्या भएको पुष्टि भएको छ।

गेस्ट हाउस सञ्चालकले कोठाबाट दुर्गन्ध आउन थालेपछि प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि घटनास्थल पुगेको प्रहरीले कोठाभित्र शव फेला पारी अनुसन्धान अघि बढाएको हो।

मृतक निशा सुनार कैलालीको धनगढी उपमहानगरपालिकाकी स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न व्यक्तिको खोजी तथा पहिचानका लागि प्रहरीले अनुसन्धान तीव्र बनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राखिएको छ।

प्रहरीले घटनाको विस्तृत कारण र हत्यामा संलग्न व्यक्तिबारे थप अनुसन्धान भइरहेको जनाएको छ।