सम्पत्ति शुद्धीकरण मुद्दाका फरार अभियुक्त शंकरलाल अग्रवाल उच्च अदालत पाटनमा उपस्थित

Image

सम्पत्ति शुद्धीकरण मुद्दामा फरार रहेका व्यवसायी शंकरलाल अग्रवाललाई पक्राउपछि प्रहरीले उच्च अदालत पाटनमा उपस्थित गराएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अग्रवाललाई बुधबार काठमाडौंको डिल्लीबजार क्षेत्रबाट पक्राउ गरेको थियो। सीआईबीका एसएसपी अनुपमशमशेर राणाका अनुसार पक्राउ लगत्तै उनलाई उच्च अदालत पाटनमा उपस्थित गराइएको हो।

अग्रवाल परिवारमाथि यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरेको थियो। शंकरलालका छोरा शुलभ अग्रवाल सोही मुद्दामा हाल पुर्पक्षका लागि थुनामा रहेका छन्।

व्यवसायी दीपक भट्टसँग अग्रवाल परिवारको आर्थिक सम्बन्ध देखिएपछि अनुसन्धान अघि बढाइएको थियो। सम्पत्ति शुद्धीकरणकै अभियोगमा दीपक भट्ट पनि हाल थुनामा छन्।

सीआईबीका अनुसार शंकरलाल अग्रवालविरुद्ध बैंकिङ कसुर सम्बन्धी अर्को मुद्दासमेत विचाराधीन रहेको छ। पक्राउपछि उनलाई कानुनी प्रक्रियाअनुसार अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।