सरकारले रिक्त रहेका विभिन्न मुलुकका नेपाली नियोगमा राजदूत नियुक्ति प्रक्रिया अघि बढाउने तयारी गरेको छ। परराष्ट्र मन्त्रालयले आउँदो साता केही देशका लागि राजदूत नियुक्तिको सिफारिस मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको जनाएको छ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार बीचमा कुनै अवरोध नआए परराष्ट्रमन्त्री शिशिर खनालले अर्को साता मन्त्रिपरिषद् बैठकमा राजदूत नियुक्तिका लागि नाम प्रस्ताव गर्नेछन्।
स्रोतका अनुसार पहिलो चरणमा करियर डिप्लोम्याट अर्थात् परराष्ट्र मन्त्रालयका सहसचिवहरूलाई राजदूतमा सिफारिस गर्ने तयारी छ। त्यसपछि दोस्रो चरणमा राजनीतिक नियुक्ति अन्तर्गत अन्य व्यक्तिहरूको नाम सिफारिस गरिनेछ।
हाल चीन, भारत, अमेरिका, बेलायत, जापान, रुस, अस्ट्रेलिया, जर्मनी, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, मलेसिया, इजरायल, डेनमार्क, श्रीलंका, दक्षिण अफ्रिका, स्पेन र ओमान लगायत १८ देशमा नेपाली राजदूतको पद रिक्त रहेको छ।
परराष्ट्र मन्त्रालयले गत जेठ १४ गते अमेरिका, चीन, भारत, अस्ट्रेलिया, बेलायत, साउदी अरेबिया, बंगलादेश, इजरायल, ओमान, दक्षिण कोरिया, मलेसिया, बहराइन र अष्ट्रियासहित १३ देशका लागि खुला आवेदन आह्वान गरेको थियो।
उक्त आह्वानपछि करिब चार हजार आवेदन परेका थिए। मन्त्रालयले प्राप्त आवेदनको मूल्यांकन गरी राजदूतका सम्भावित उम्मेदवारहरूको सर्टलिस्ट तयार गरिसकेको स्रोतले जनाएको छ।
परराष्ट्र मन्त्रालयले कम्तीमा पाँच जना सहसचिवलाई करियर डिप्लोम्याटका रूपमा राजदूतमा सिफारिस गर्ने तयारी गरेको छ। बाँकी पदमा भने प्राप्त आवेदनका आधारमा राजनीतिक नियुक्तिमार्फत १३ जनाको नाम सिफारिस गर्ने तयारी भइरहेको मन्त्रालय स्रोतले जनाएको छ।














