अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाललाई पक्राउ गरेको छ।
आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा पाललाई नियन्त्रणमा लिएको आयोगका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानअनुसार लहानस्थित एक कम्पनीको कर परीक्षण सहज बनाइदिने भन्दै कर अधिकृत पालले सेवाग्राहीसँग घुस मागेर लिएको आरोप लागेको छ।
सूचना अधिकारी पोखरेलका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ। घुसस्वरूप लिइएको रकमको यकिन तथा घटनाका अन्य पक्षबारे अनुसन्धान भइरहेको आयोगले जनाएको छ।














