काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालको लगातार तेस्रो हार

Image

काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ । इस्लामावादमा शुक्रबार भएको खेलमा घरेलु टोली पाकिस्तानले नेपाललाई सोझो सेटमा पराजित गर्दै लगातार तेस्रो हार चखाएको हो ।

गारिसन जिन्नाहा स्पोर्ट्स कम्प्लेक्समा सम्पन्न प्रतिस्पर्धामा पाकिस्तानले नेपाललाई २५–१४, २५–१८ र २५–१० ले हरायो। खेलभरि पाकिस्तानले उत्कृष्ट आक्रमण र बलियो ब्लकिङ प्रदर्शन गर्दा नेपालले कुनै पनि सेटमा प्रभाव जमाउन सकेन ।

यो जितसँगै पाकिस्तानले लगातार तेस्रो विजय दर्ता गर्दै ९ अंकसहित तालिकाको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ । उता, लगातार तीन खेल गुमाएको नेपालको खातामा दुई अंक मात्रै छ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा काजकिस्तानसँग ३–२ को प्रतिस्पर्धात्मक सेटमा हार बेहोरेको थियो। दोस्रो खेलमा पनि श्रीलंकासँग पाँच सेटसम्म संघर्ष गरे पनि जित निकाल्न असफल भएको थियो। तर पाकिस्तानविरुद्ध भने नेपालले अपेक्षित चुनौतीसमेत प्रस्तुत गर्न सकेन।