नेपाली सेयर बजार लगातार तेस्रो कारोबार दिन पनि ओरालो लागेको छ। अघिल्लो दिन ४.६४ अंकले घटेको नेप्से परिसूचक बुधबार थप ७.७९ अंकले घट्दै २,६८८.५५ अंकमा झरेको हो।
कारोबारका क्रममा नेप्से दिउँसो १२:४० बजे दिनकै उच्च २,७०६ अंकसम्म पुगे पनि त्यसपछि बजारमा बिक्री दबाब बढ्दा अन्तिम समयसम्म ओरालो यात्रा कायम रह्यो।
बजारसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ४ अर्ब ४२ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ४ अर्ब २ करोड रुपैयाँमा सीमित भएको छ।
आज ७८ कम्पनीको सेयर मूल्य बढ्दा १८६ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ। समूहगत सूचकतर्फ सबै क्षेत्रको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो। अन्य समूह ०.४३ प्रतिशतले बढ्दा बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, निर्जीवन बीमा तथा व्यापार समूहका सूचकमा गिरावट आएको छ।
सूचीकृत भएपछि लगातार सकारात्मक सर्किट लाग्दै आएको एभरेस्ट कलरको सेयर मूल्यमा बुधबार पनि १५ प्रतिशतको वृद्धि कायम रह्यो। त्यसैगरी स्नो रिभर्स ४.९० प्रतिशत, खानीखोला हाइड्रोपावर ३.६२ प्रतिशत, हिमालयन पावर पार्टनर ३.३५ प्रतिशत तथा मेन्छियाम हाइड्रोपावर २.२४ प्रतिशतले बढेका छन्।
यता मातृभूमि लघुवित्तको सेयर मूल्य ४.५४ प्रतिशतले घटेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक ४.४२ प्रतिशत र शुभम् पावर ४.२६ प्रतिशतले घट्दै धेरै गुमाउने कम्पनीको सूचीमा परेका छन्।
कारोबार रकमका आधारमा बुधबार हिमालयन पावर पार्टनर, खानीखोला हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स र रिडी पावर सबैभन्दा बढी कारोबार हुने कम्पनी बनेका छन्।














