पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रड पिकमा गएको भीषण हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को ट्र्याकिङ उपकरणले अझै पनि गतिविधि (मुभमेन्ट) देखाइरहेको जानकारी सार्वजनिक भएको छ।
ब्रड पिकमा बिहीबार बिहान करिब ९ः२० बजे गएको हिमपहिरोमा पुर्जासहित १० जना आरोही सम्पर्कविहीन भएका थिए। घटनापछि उद्धार तथा खोजी कार्य जारी रहे पनि उनीहरूको अवस्थाबारे आधिकारिक पुष्टि हुन सकेको छैन।
निर्मल पुर्जाका व्यावसायिक साझेदार मिङ्मा ग्याबु शेर्पा (मिङ्मा डेभिड)ले पुर्जाको ट्र्याकिङ उपकरणबाट अझै पनि स्थान परिवर्तन भइरहेको संकेत प्राप्त भइरहेको बताएका छन्।
उनका अनुसार हिमपहिरो गएयता ट्र्याकरले देखाउने लोकेसन निरन्तर परिवर्तन भइरहेको छ। तर, यसले पुर्जा सुरक्षित नै छन् भन्ने पुष्टि नगर्ने भएकाले उनको वास्तविक अवस्थाबारे अझै अन्योल कायम रहेको छ।
हालसम्म निर्मल पुर्जा बेपत्ता नै छन्। खराब मौसम र कठिन भौगोलिक अवस्थाका कारण खोजी तथा उद्धार अभियान चुनौतीपूर्ण बनेको छ।
अधिकारीहरूले खोजी अभियानलाई निरन्तरता दिइरहेका छन् भने पर्वतारोहण समुदायले निर्मल पुर्जा र अन्य सम्पर्कविहीन आरोहीहरूको सकुशल उद्धारको आशा व्यक्त गरिरहेका छन्।















