पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी बेपत्ता भएका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित अन्य आरोहीहरूको खोजी तथा उद्धार कार्य स्थगित गरिएको छ।
गिलगिट–बाल्टिस्तानका गृहसचिव फैसल एहसान पिर्जादाका अनुसार प्रतिकूल मौसमका कारण शुक्रबारको खोजी तथा उद्धार कार्य स्थगित गरिएको हो । उनका अनुसार मौसम अनुकूल भएमा शनिबार बिहानदेखि खोजी तथा उद्धार कार्य पुनः सुरु हुनेछ।
बिहीबार ब्रोड पिक आरोहणका क्रममा आएको हिमपहिरोमा ६ नेपालीसहित १० जनाको अन्तर्राष्ट्रिय टोली परेको थियो। हालसम्म ४ जनाको शव भेटिएको छ भने निर्मल पुर्जासहित ६ जना अझै बेपत्ता छन्।
बेपत्ताहरूको खोजीका लागि पाकिस्तान, नेपाल र बेलायतबाट उद्धार टोली परिचालन भइरहेको छ। नेपालबाट मिङ्मा डेभिड शेर्पा सहितको टोली पनि पाकिस्तानतर्फ प्रस्थान गरिसकेको छ भने इलाइट एक्सपिडिसनको के–टु टोलीले समेत आफ्नो आरोहण योजना स्थगित गरी खोजी अभियानमा सहभागी हुने निर्णय गरेको छ।
ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा नाधिरा अहमद अब्दुल्लाह अल हार्थी (ओमान), सोहेल साखी (पाकिस्तान), वाङ झोङ (चीन), मलोरी गाइस (अमेरिका), निर्मल पुर्जा (नेपाल) पुरबहादुर गुरुङ ‘युकता’ (नेपाल), किली पेम्बा शेर्पा ‘किलु’ (नेपाल), निमा शेर्पा (नेपाल), नवाङ थिन्डु शेर्पा (नेपाल) र ग्यालु शेर्पा (नेपाल) परेका थिए । १० सदस्यीय टोलीको नेतृत्व विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाले गरेका थिए।
जसमध्य ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चर्चित पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को मृत्यु भएको पुष्टि भएको छ ।त्यसमध्ये ओमानी आरोही नधिरा अल हारथी र नेपाली आरोही पुरबहादुर गुरुङको पहिचान भएको हो । अन्य दुईजनाको पहिचान खुलेको छैन् ।
निर्मल पुर्जासहित ६ जना भने अझै बेपत्ता छन्।















