पर्सामा प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१०, आदर्शनगरबाट दुईवटा मोटरसाइकलमा सवार चार जनालाई नियन्त्रणमा लिएको हो।
प्रदेश २–०३–००३ प ७२१५ र ना५७प ५१८२ नम्बरका मोटरसाइकल खानतलासी गर्दा ठूलो परिमाणमा नेपाली रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारतको बिहारस्थित सितामढी जिल्ला, डुमरा थाना निवासी २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ का ३२ वर्षीय उपेन्द्र साह र २६ वर्षीय सागरकुमार सर्साफ तथा पर्साको विन्दवासिनी गाउँपालिका–१ का २५ वर्षीय राहुलकुमार गुप्ता रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट १ हजार रुपैयाँ दरका ४ हजार ५ थान, ५ सय रुपैयाँ दरका २ हजार ३ सय ५३ थान, १ सय रुपैयाँ दरका ६ सय ४३ थान र ५० रुपैयाँ दरका ८४ थान नोट बरामद भएको हो।
बरामद रकमको स्रोत खुलाउन नसकेपछि चारै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।














