सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा पठाउन आदेश

Image

विशेष अदालतले सम्पत्ति शुद्धीकरणको आरोप लागेका व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा राख्न आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले बुधबार दुवैजनालाई थुनामा पठाउने आदेश दिएको हो।

सम्पत्ति शुद्धीकरणसम्बन्धी पहिलो मुद्दामा यसअघि नै थुनामा रहेका भट्ट र अग्रवाललाई दोस्रो मुद्दामा बयान तथा थुनछेक बहसका लागि बुधबार विशेष अदालतमा उपस्थित गराइएको थियो। बयान र थुनछेक बहसपछि अदालतले उनीहरूलाई पनि थुनामा राख्ने आदेश दिएको हो।

पूर्वअर्थमन्त्री विष्णु पौडेललाई समेत प्रतिवादी बनाइएको सम्पत्ति शुद्धीकरणसम्बन्धी दोस्रो मुद्दामा भट्ट र अग्रवालविरुद्ध पनि अभियोग दायर गरिएको थियो।

सोही मुद्दामा अदालतले पूर्वअर्थमन्त्री पौडेललाई भने साधारण तारिखमा छाड्न आदेश दिएको छ। तर, भट्ट र अग्रवाललाई भने थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउने आदेश भएको हो।