प्रस्तावित ‘जय नेपाल पार्टी’ दर्ता नहुँदै नागरिक बचाउ महाअभियानका प्रमुख दुर्गा प्रसाईं र नेता डा. धवलशमशेर राणाबीच खटपट देखिएको छ।
प्रसाईंको हस्ताक्षर र सहमति बिना नै डा. राणाले आगामी साउन २९ गते निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता गर्ने सार्वजनिक आह्वान गरेपछि विवाद सतहमा आएको हो।
राणाले बुधबार जारी गरेको आह्वान पत्रमा साउन २६ गते बसेको कार्यदलको निर्णयअनुसार साउन २९ गते शुक्रबार दिउँसो १२ः१५ बजे निर्वाचन आयोग, कान्तिपथमा दल दर्ता गर्ने उल्लेख गरेका छन्। उनले प्रस्तावित पार्टीमा आबद्ध नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई उक्त समयमा उपस्थित हुन आग्रह गरेका छन्।
यसअघि प्रसाईंले डा. राणामाथि गम्भीर आरोप लगाएका थिए। राणाले राजसंस्था नचाहेको दाबी गर्दै प्रसाईंले ‘राणाहरू देशमा भएसम्म राजा आउँदैनन्’ भनेका थिए। साथै, राणाको अभिव्यक्तिले पार्टीभित्र विदेशी हस्तक्षेपको आशंका उत्पन्न भएको भन्दै उनले ‘धवलजीको कुरा सुन्दा पार्टीभित्र सीआईए पसेको जस्तो लागेको छ’ भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए।
दरबार हत्याकाण्डबारे राणाले राखेको धारणाप्रति समेत प्रसाईंले आपत्ति जनाएका थिए।
तर, प्रस्तावित पार्टीको कार्यदलका सदस्यसचिव सगुन सुन्दर लावतीले भने प्रसाईं सहभागी भए पनि नभए पनि दल दर्ताको प्रक्रिया नरोकिने स्पष्ट पारेका छन्। उनका अनुसार प्रसाईंका पछिल्ला अभिव्यक्ति व्यक्तिगत हुन् र कार्यदलले विधिवत् रूपमा दल दर्ता गर्ने निर्णय गरिसकेको छ।
मुकुन्दश्याम गिरीको नेतृत्वमा रहेको कार्यदलले दल दर्ताको निर्णय गरेको र उक्त कार्यदलमा प्रसाईं पक्षको समेत सहभागिता रहेको लावतीले बताएका छन्।
यता, प्रसाईंका अभिव्यक्तिपछि प्रस्तावित ‘जय नेपाल पार्टी’भित्र विवाद बढेको चर्चा भइरहेका बेला प्रसाईं पक्षका माधव कन्पितले भने साउन २६ गते विज्ञप्ति जारी गर्दै प्रसाईं र राणाबीच कुनै तिक्तता नरहेको दाबी गरेका छन्।
यससँगै पार्टी निर्माणको प्रक्रियामै रहेका बेला सार्वजनिक रूपमा देखिएको प्रसाईं–राणा मतभेदले प्रस्तावित ‘जय नेपाल पार्टी’को आगामी राजनीतिक यात्रा र नेतृत्व संरचनाबारे प्रश्न उठाएको छ।















