दक्षिणपश्चिम चीनको युन्नान प्रान्तमा निजी स्वामित्वको डुङ्गा डुब्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।
स्थानीय अधिकारीहरूका अनुसार हुआनिङ काउन्टीस्थित नानपान नदीमा शनिबार डुङ्गा दुर्घटना भएको हो। दुर्घटनाका बेला डुङ्गामा छ जना सवार रहेका काउन्टी सरकारले जनाएको छ। सरकारका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ भने एक जनालाई सकुशल उद्धार गरिएको छ। अन्य तीन जना अझै बेपत्ता छन्।
बेपत्ताको खोजी तथा उद्धारका लागि आपतकालीन, अग्निनियन्त्रण तथा प्रहरी विभागको समन्वयमा ४७० भन्दा बढी उद्धारकर्मी परिचालन गरिएको स्थानीय अधिकारीहरूले बताएका छन्।
उद्धारकर्मीहरूले नदीमा बेपत्ता व्यक्तिहरूको खोजी जारी राखेका छन्। दुर्घटनाको कारणबारे स्थानीय अधिकारीहरूले अनुसन्धानसमेत सुरु गरेका छन्।















