थवाङ पहिरोमा मृत्यु हुनेको संख्या १२ पुग्यो

Image

रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा चार दिनअघि गएको पहिरोमा मृत्यु हुनेको संख्या १२ पुगेको छ। 

पहिरोमा परी बेपत्ता भएका एक वृद्धको शव शनिबार फेला परेको छ। योसँगै पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको हो भने अझै एक जना हराइरहेका छन्। 

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार पहिरोमा परी बेपत्ता भएका थवाङ–५ कोटलबाराका ८० वर्षीय अजम्बर पुन मगरको शव भेटिएको छ। उनको शव प्युठानको सरुमारानी गाउँपालिका–२ ददेरीस्थित राप्ती नदीमा भेटिएको हो। 

उनका भतिजा सुशीलले सनाखत गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताए। पहिरोमा परी थवाङ–५ का नौ वर्षीय अशिम पुन मगर हराइरहेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।