सेयरबजारमा सामान्य अंकको सुधार आएको छ। निरन्तर घट्दै आएको बजार बिहीबार ७.१७ अंकले बढेर २६२९.४० विन्दुमा चढेको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन ४ अर्ब ४० करोडको कारोबार भएको छ। ९५ लाख कित्ता किनबेचपछि यो परिमाणमा कारोबार भएको हो। आजको कारोबारमा ९ वर्षे एग्रिकल्चरल बन्ड र रिलायन्स स्पिनिङ मिल्सको मुख्य योगदान रह्यो। बन्ड ५० करोडको र रिलायन्सको ३० करोडको कारोबार भएको हो। त्यस्तै सोलु हाइड्रो २२ करोड, साहस ऊर्जा र सुपर मादी हाइड्रोको समान १६ करोडको किनबेच भएको छ।
योसँगै १३२ वटा सेयरको मूल्य बढ्दा सबैभन्दा बढी माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजका लगानीकर्ताले कमाएका छन्। माउन्टका लगानीकर्ताले १४.९९ प्रतिशत र सर्वोत्तमका लगानीकर्ताले १४.९९ प्रतिशत कमाएका हुन्। बाँकी लगानीकर्ताले भने अधिकतम ६.६३ प्रतिशतसम्म कमाएका छन्।
तर १३२ वटै सेयरका लगानीकर्ताले भने गुमाउनुपरेको छ। जसमा कुमारी धनवृद्धि योजनाका लगानीकर्ताले सबैभन्दा बढी ९.७७, त्यसपछि कुमारी इक्विटी फन्डका सेयरधनीले पनि ९ प्रतिशत प्रतिसेयर नोक्सानी व्यहोरेका छन्।
बिहीबार १३ वटा सेयरको मूल्यमा भने परिवर्तन छैन। यस दिन ४७ हजार ९ सय १९ पटक किनबेच भएको नेप्सेले जनाएको छ। यस दिन वाणिज्य बैंक, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य समूह बढे पनि बाँकी भने घटेका छन्।















