शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा ‘विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारी गृहकार्य’ अन्तर्गत विद्यालय व्यवस्थापन तथा पाठ्यक्रम व्यवस्थासम्बन्धी छलफल सुरु गरिएको छ।
विद्यालय शिक्षाको सुधार, व्यवस्थापन तथा पाठ्यक्रमलाई व्यवस्थित बनाउन आवश्यक सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मन्त्रालयले जनाएको छ।
शिक्षा मन्त्रालयका सहसचिव शिवकुमार बास्कोटाले विद्यालय व्यवस्थापन र पाठ्यक्रमको स्वरूपबारे छलफल केन्द्रित रहेको बताए। आइतबार काठमाडौंमा आयोजित छलफल कार्यक्रममा विद्यार्थी तथा अभिभावकको समेत सहभागिता रहेको थियो।
छलफलका क्रममा नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले शिक्षाको बजेट घटाइएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले नेपालको संविधानले शिक्षासम्बन्धी विषयमा स्थानीय तहलाई एकल अधिकार दिएको उल्लेख गर्दै कक्षा १२ सम्मको शिक्षामा संघीय सरकारले अत्यधिक हस्तक्षेप गर्न नहुने बताए।
उनले अब बन्ने शिक्षा ऐनमा प्रत्येक विद्यालयमा कम्तीमा एउटा बस र होस्टेलको व्यवस्था हुनुपर्ने प्रावधान राख्नुपर्नेमा समेत जोड दिए।













