गृहमन्त्री सुधन गुरुङले काठमाडौँमा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने भएका छन्। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दिएको जानकारीअनुसार पार्टीले यही भदौदेखि सञ्चालन गरिरहेको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रमअन्तर्गत गृहमन्त्री गुरुङले सोमबार भदौ ८ गते पार्टीको केन्द्रीय कार्यालयमा उपस्थित भई नागरिकसँग प्रत्यक्ष संवाद गर्ने भएका हुन्।
रास्वपाले भनेको छ, ‘कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा आम नागरिकले आफ्ना गुनासा, समस्या, सुझाव तथा अपेक्षा प्रत्यक्ष रूपमा गृहमन्त्रीसमक्ष राख्न सक्नेछन् भने दोस्रो चरणमा मन्त्री, सांसद तथा केन्द्रीय नेतृत्वबिच नागरिकबाट प्राप्त सुझावसँगै समसामयिक तथा नीतिगत विषयमा छलफल गरिनेछ।’
कार्यक्रम सोमबार साँझ ५ बजेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा हुनेछ।
नागरिकका आवाज, सुझाव र अपेक्षालाई सरकार तथा पार्टीको नीति निर्माण र प्रभावकारी कार्यान्वयनसँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले सञ्चालन गरिने यस कार्यक्रममा उपस्थित हुन रास्वपाले नागरिकलाई अनुरोध पनि गरेको छ।














