पुराना अपराध बिर्सिएको छैन, अपराधीलाई जुनसुकै बेला समात्छौँ : आईजीपी

Image

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटनाहरू प्रहरी संगठनको ‘इन्स्टिच्युसनल मेमोरी’ मा रहने भएकाले त्यस्ता घटनामा संलग्न अपराधीलाई जुनसुकै बेला पनि कानुनी कारबाहीको दायरामा ल्याउन सकिने बताएका छन्।

राष्ट्रिय समाचार समिति (रासस)सँगको कुराकानीमा उनले दशकौँ पुराना घटनामा संलग्न व्यक्तिलाई समेत पक्राउ गरी कानुनी कारबाही गर्दै आएको बताए।

“व्यक्तिका स्मरण छोटो समयमा समाप्त हुन्छन्, तर प्रहरी व्यक्तिको न्यायका लागि अनवरत रूपमा लडिरहने संस्था हो,” उनले भने, “यो संस्थाले त्यस्ता घटनाहरू बिर्सँदैन।”

यद्यपि, पुराना मुद्दामा चाहेजस्तो सफलता प्राप्त गर्न नसकिएको उनले स्वीकार गरे। पुराना घटनाको अध्ययन र निरन्तर अनुसन्धानमार्फत घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउने काम भइरहेको उनको भनाइ छ।

आईजीपी कार्कीले पुराना चर्चित तथा जघन्य प्रकृतिका घटनाको अनुसन्धानका लागि विशेष टोली गठन गरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मार्फत अनुसन्धान भइरहेको जानकारी दिए। नयाँ र पुराना दुवै मुद्दाको अनुसन्धान सँगसँगै अघि बढाइएको उनले बताए।

बदलिँदो समाज, प्रविधि र आपराधिक कार्यशैलीसँगै सुरक्षा चुनौती थपिँदै गएको उल्लेख गर्दै उनले परम्परागत अनुसन्धान पद्धतिले मात्र आधुनिक चुनौतीको सामना गर्न नसकिने बताए।

प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै नागरिकले घरबाटै आवेदन तथा निवेदन दिन र त्यसबारे जानकारी लिन सक्ने प्रणालीको विकास गरिएको पनि उनले बताए।

पछिल्लो समय प्रविधिजन्य तथा आर्थिक अपराधका घटना बढ्दै गएको उल्लेख गर्दै उनले यस्ता अपराधको अनुसन्धानका लागि आवश्यक जनशक्ति भर्ना तथा परिचालनमा जोड दिइएको बताए।

अपराधको विश्वव्यापी सञ्जाल नियन्त्रणका लागि विभिन्न देशका प्रहरी संगठन तथा इन्टरपोलमार्फत अन्तर्राष्ट्रिय अनुसन्धान निकायसँग समन्वय भइरहेको उनले जानकारी दिए।

आईजीपी कार्कीले शान्ति, सुव्यवस्था र नागरिकको जीउधनको सुरक्षाका लागि आमनागरिकको सहयोग आवश्यक रहेको उल्लेख गर्दै आपराधिक गतिविधिमा संलग्न व्यक्तिबारे सूचना उपलब्ध गराएर प्रहरीलाई सहयोग गर्न आग्रह गरेका छन्।