रविको निर्देशन-३५ वर्षको हिसाब माग्ने होइन, आगामी ३५ वर्षको कार्ययोजना ल्याउनू

Image

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरुसँग विगत ३५ वर्षको हिसाब माग्दै नहिँड्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

आइतबार राजधानी काठमाडौंमा आयोजित पार्टीको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन्। उनले विगत ३५ वर्षको हिसाबकिताब खोज्ने कार्यमा नलागि अगामी ३५ वर्षको कार्ययोजना ल्याउन समेत निर्देशन दिए।

लामिछानेले विगतमा अन्य नेता र दललाई दोष दिएर आफूलाई अग्लो देखाउने अवस्था भएपनि अब त्यस्तो ठाउँ रास्वपासँग नरहेको समेत स्पष्ट पारे। उनले विगतको असफलता र कमजोरीलाई लिएर निरन्तर आलोचना गरिरहनुभन्दा आगामी पुस्ता र देशको भविष्यका लागि दीर्घकालीन योजना निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिए।

उनले भने, ‘हिजो हामीले दोष लगाउने कयौँ मान्छेहरु थिए। कयौँ नेताहरू पनि थिए। जसलाई दोष लगाउँदा पनि हुन्थ्यो। दोषैदोषको चाङमा उभिएर आफूलाई अग्लो देखाउन हामी सक्थ्यौँ। आज कसलाई दोष देखाउने? अब हामीले दोष देखाउने कुनै कुरा छैन। अब यो ३५ वर्षको हिसाबको कुरा गर्ने होइन साथी हो। ३५ वर्षको योजना ल्याउनुहोस्। अब वितेको ३५ वर्षको लागि उहाँहरू लाई कचकच गर्ने ठाउँमा हामी छैनौँ। जति सके गरे धन्यवाद। तर अबको ३५ वर्षमा कस्तो बनाउने हाम्रै हातमा छ नि।’

उनले विगत ३५ वर्षमा पुराना राजनीतिक दलहरुले गरेका सकारातमक कामहरुप्रति धन्यवाद दिनुपर्ने बताए।