मलेसियाविरुद्धको अभ्यास खेलमा नेपालको सानदार जित

Image

ओपनर आसिफ शेख र अर्जुन कुमालको उत्कृष्ट प्रदर्शनमा नेपालले एकदिवसीय अभ्यास खेलमा घरेलु टोली मलेसियाविरुद्ध ९ विकेटको सानदार जित दर्ता गरेको छ । 

मंगलबार क्वालालाम्पुरस्थित सेलान्गोर टर्फ मैदानमा प्राप्त गरेको २२८ रनको नयाँ लक्ष्य नेपालले २८ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । वर्षाका कारण केही समय अवरुद्ध भएको खेललाई ४८ ओभरमा झारेर नेपाललाई नयाँ लक्ष्य प्रस्तुत गरिएको हो । 

नेपालका लागि आसिफले सर्वाधिक १६१ रनको योगदान गरे । उनले ८५ बलमा १२ चौका र १२ छक्का प्रहार गरे । पहिलो विकेटका लागि आसिफ र अजुर्नबीच २२० रनको उत्कृष्ट साझेदारी भएको थियो । यसैगरी, अर्जुन ६१ रनमा अविजित रहे । उनले बलमा ८२ बलमा सात चौका प्रहार गरे । 

मलेसियाका निम्ति एक मात्र विकेट अस्लाम खान मलिकले लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको मलेसियाले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३२ रनको योगफल तयार पारेको थियो । 

मलेसियाका मोहम्म स्याहदत रमीलले सर्वाधिक ६१ रनको योगदान गरे । उनले ६८ बलमा चार चौका र चार छक्का प्रहार गरे । यसैगरी, सैफुल्लाह मलिकले ४५, कप्तान सैयद अजिजले ४०, विरनदिप सिंहले ३९ र अकिल वाहिदले १५ रन बनाए । 

नेपालका कप्तान सन्दीप लामिछानले सर्वाधिक चार विकेट लिए । १० ओभर बलिङ गरेका उनले एक मेडनसहित ५४ रन खर्चिए । यसैगरी, करण केसीले दुई तथा दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले एक–एक विकेट लिए । 

नेपालले एसीसी प्रिमियर कपको तयारी स्वरुप मलेसियासँग अभ्यास खेल खेलेको हो ।