त्रिभुवन त्रिशूली मावि पूर्ण रूपमा क्षतिग्रस्त, प्रार्थना समयमा घर फर्किएका विद्यार्थीको अवस्था अज्ञात

Image

बुधबार बिहान त्रिशूली नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा पूर्ण रूपमा क्षति पुगेको छ ।

बाढीले विद्यालयको संरचना पुरै बगाएको र पुरिएको विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीले जानकारी दिए। दवाडीका अनुसार प्ले ग्रुपदेखि कक्षा १२ सम्म अध्ययन हुने विद्यालयमा विद्यार्थीको संख्या  १६ सय ४३ छ ।

ती मध्ये अधिकांशलाई प्रार्थना समयमा बाढीको सूचना पाए लगत्तै घर फर्काइएको उनले बताए । घर फर्किएका विद्यार्थीको अवस्था अज्ञात रहेको उनको भनाइ छ। ”सूचना पाएपछि मैले विद्यालयमा देखेका विद्यार्थीलाई बाहिर निकालेँ । विद्यार्थीहरू घर जाने भन्दै निस्किएका थिए । उनीहरूको अवस्था थाहा छैन,” उनले भने । हाल  ७० विद्यार्थी आफूसँगै रहेको उनले बताए । 

बाढी विद्यालयतर्फ आएपछि उनी पनि विद्यालयबाट बाहिरिएका थिए । केही विद्यार्थी घरतर्फ हिँडिसकेका थिए भने धेरै विद्यार्थी विद्यालय आउँदै गरेको वा घरमै रहेको हुन सक्ने भएकाले उनीहरूको अवस्थाबारे यकिन हुन सकेको छैन। 

प्रधानाध्यापक दवाडीले  विद्यार्थी तथा अभिभावकलाई सम्पर्क गर्ने प्रयास भइरहेको जानकारी दिए ।