भोटेकोसी बाढीपीडितका लागि भारतले चौथोपटक राहत सामग्री नेपाल पठाएको छ। भारतका विदेशमन्त्री एस जयशंकरले दिएको जानकारीअनुसार ११ टन राहत सामग्रीसहित शनिबार राति सी-१३० सैन्य विमान नेपाल पठाइएको हो।
खोज र उद्धारका लागि उपकरणसहितको सुरुङ प्राविधिक टोली (टनेल टेक्निकल टिम), फोरेन्सिक उपकरणसहित डीएनए विश्लेषणका लागि फोरेन्सिक विशेषज्ञको टोली, कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट र हाइजिन किटसहितका राहत सामग्री पठाइएको उनले बताएका छन्।
साथै २३० फिटको सिंगल लेन मोड्युलर स्टिल पुलका लागि उपकरण बोकेका १६ ट्रक नेपाल आइपुगेका छन्। भारतीय विदेशमन्त्री जयशंकरअनुार हालसम्म भारतले औषधि, पोर्टेबल जेनेरेटर सेट, खाद्य प्याकेट, पानी शुद्धीकरण ट्याब्लेट र प्राविधिक उपकरणसहित कुल ६८.५ टन राहत सामग्री हवाई मार्गबाट काठमाडौँ पुर्याइसकेको छ।














