वृद्ध वृद्धालाई बन्धक बनाएर डकैती गर्ने पाँच जना पक्राउ

Image

रामेछापमा एक वृद्ध दम्पतीलाई बन्धक बनाई डाँका चोरी गरेको आरोपमा पाँच जनाको गिरोह पक्राउ परेको छ।

पक्राउ पर्नेहरूमा सिन्धुली घ्याङलेक गाउँपालिका २ बस्ने वर्ष २५ को सुमन जर्घा मगर, रामेछापको खाँडादेबी गाउँपालिका २ बस्ने वर्ष ३२ को दिर्घराज मोक्तान,सोही ठाउँका वर्ष ३३को पशुपति श्रेष्ठ, झापाको दमक नगरपालिका ७ बस्ने वर्ष ४४ को पिताम्बर गहतराज र धनकुटाको बेलाहारा नगरपालिका ५ बस्ने वर्ष ३८ को दीपक भन्ने गुणराज विश्वकर्मा रहेका छन्।

सुमन काठमाडौँको निजि विद्यालयको सवारी चालक हुन्। उनको साथबाट नगद रु. २५ हजार, रेड्मी कम्पनीको मोबाइल- १ थान र बा. ७३ प ८७१२ नं. को रातो कालो रंगको २२० सि. सि. को मोटरसाइकल थान-१ बरामद भएको छ।

यस्तै, बसको सहचालकको रुपमा काम गर्ने दिर्घराज मोक्तानको साथबाट नगद रु.५२ हजार २००, नेपाली नागरिकता थान – १, राहदानी थान-१, एनएमबी बैंकको चेक थान – १, ग्लोबल आइएमई बैंकको राजश्व तिरेको बिल थान १ र घटनास्थलमा प्रयोग भएको ज्याकेट र हाफ कट्टु बरामद भएको छ।

काठमाडौँमा मोटरसाइकलमा इन्ड्राईभ गर्ने पशुपति श्रेष्ठको साथबाट बा.७२ प ५५८ नं.को मोटरसाइकल थान-१, नगद रु. ६ हजार ४६०, मोबाइल थान-१, लक्ष्मी सनराईज बैंकको खातामा रु १ लाख ३१ हजार १४ रुपैयाँ ८२ पैसा मौज्दात रहेको, शुभश्री बचत ऋण सहकारी संस्थाको बचत बुक थान -१, चार्जर थान-१, नेपाली नागरिकता थान-१, बुद्धचित मालाको दाना -२२ वटा, ढलौटको पानस टुकी थान – २, पुराना सिक्का थान- ५ र सुन जस्तो पहेँलो धातुको औँठी थान-१ बरामद भएको प्रहरीको भनाई छ।

भक्तपुरमा सुनचाँदी व्यवसाय गर्ने पिताम्बर गहतराजको साथबाट मोबाइल थान-१ र दिपक भन्ने गुणराज विश्वकर्माको साथबाट सुन जस्तो पहेँलो धातुको रिङ थान २ बरामद भएको जनाइएको छ।

यही भदौ १८ गते राति अन्दाजी १२ बजेको समयमा रामेछापको खाँडादेवी २ मझुवा नेवारटोल स्थित ८५ वर्षीय बखतमान लामा र उनकी श्रीमती वर्ष ८६ की कान्छी माया तामाङ आफ्नै घरमा सुतिरहेको अवस्थामा नकावधारी अपरिचित ३ (तीन) जनाको समूह घरभित्र प्रवेश गरेका थिए। 

उनीहरूले ती वृद्ध वृद्धालाई प्लाष्टिकको टेपले हात बाँधेर मुख थुन्नुका साथै आँखामा पट्टी बाँधी ज्यान मार्ने धम्की समेत दिई निजहरुले लगाएको गरगहना तथा घरमा राखेको नगद समेत लुटेको प्रहरीले जनाएको छ।  

अनुसन्धानका क्रममा उल्लेखित व्यक्तिहरूलाई डाँका चोरीका सामान तथा डाँका चोरीमा प्रयोग गरेका सवारी साधानसहित २० गते भक्तपुर जिल्लाका बिभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। 

अनुसन्धानका क्रममा पशुपति श्रेष्ठको समूहले रामेछापको खाँडादेवी गाउँपालिका ७ स्थितमा रहेको रुद्रेश्वर महादेव मन्दिरको दान पेटिका फुटाई रकम चोरी गरेको पाइएको छ।

यस्तै, गत असार १ गते रातिको समयमा साोही गाँउपालिका ३ बस्ने सुन्दरी श्रेष्ठको अन्दाजी २८/३० के.जी. को एउटा खसी र भदौ ७ गते राति खाँडादेवी गाउँपालिका ३ भिरपानी बस्ने राम बहादुर श्रेष्ठको गोठबाट अन्दाजी १५ के.जी.को एउटा बोका चोरी घटनामा पशुपति श्रेष्ठ समूहको संलग्नता रहेको अनुसन्धानबाट पुष्टि भएको छ।

नेपाल प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीएसआर) चेक गर्दा पशुपति श्रेष्ठ प्रहरी बृत कालीमाटीबाट डाँका तथा चोरी कसूरमा मुद्दा चलेको देखिएको, दिर्घराज मोक्तानलाई जिल्ला प्रहरी कार्यालय रामेछापबाट अभद्र व्यवहार मुद्दा चलेको देखिएको, दिपक भन्ने गुणराज विश्वकर्मालाई प्रहरी बृत बौद्ध काठमाडौँबाट जुवा सम्बन्धी कसूरमा मुद्दा चलेको देखिएको सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतले जानकारी दिए।