जापानी प्रधानमन्त्री सानाए ताकाइचीले आफ्नो मन्त्रिमण्डल र सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को कार्यकारी टोलीलाई जतिसक्दो चाँडो फेरबदल गर्ने विचार गरिरहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सोमबार ताकाइचीले टोकियोस्थित आफ्नो कार्यालयमा वरिष्ठ एलडीपी अधिकारीहरूसँग अपेक्षित नेतृत्व फेरबदलअघि पार्टी व्यवस्थापनबारे विचार आदानप्रदान गरेको पार्टी स्रोतलाई उद्धृत गरी क्योदो न्यूजले रिपोर्ट गरेको छ ।
बैठकमा एलडीपी नीति प्रमुख ताकायुकी कोबायाशी, एलडीपीका कार्यकारी कार्यवाहक महासचिव कोइची हागिउडा र मुख्य क्याबिनेट सचिव मिनोरु किहारा सहभागी भएको रिपोर्टमा उल्लेख छ । सोमबार अपरान्ह ताकाइचीले एलडीपीका महासचिव शुनइची सुजुकीसँग भेट गरेकी छन् । यो फेरबदलको चर्चा शरद ऋतुमा हुने असाधारण संसदीय अधिवेशनअघि आएको हो ।
‘ताकाइचीले अर्को शरद ऋतुमा हुने पार्टी अध्यक्षीय निर्वाचनमा सम्भावित प्रतिद्वन्द्वीहरूलाई नियन्त्रणमा राख्न उनीहरूलाई प्रमुख पदहरू दिएर आफ्नो प्रशासनको आधार बलियो बनाउने इरादा राखेको देखिन्छ,’ रिपोर्टमा भनिएको छ ।














