रुसको उत्तरी काकेसस क्षेत्रमा रहेको काबार्दिनो–बाल्कारिया गणतन्त्रमा हिमपहिरोमा परी ११ जनाको मृत्यु भएको छ। घटनामा छ जना बेपत्ता छन् भने थप छ जना घाइते भएका छन्।
रुसी विपत् व्यवस्थापन मन्त्रालयका अनुसार ३३ जना आरोही रहेको समूहलाई हिमपहिरोले बगाएको थियो। हिमपहिरोमा परी ११ जनाको मृत्यु भएको, छ जना घाइते भएको र अन्य छ जना बेपत्ता रहेको मन्त्रालयले सोमबार पुष्टि गरेको हो।
घाइतेहरूलाई उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको मन्त्रालयले जनाएको छ। बेपत्ताहरूको खोजी तथा उद्धारका लागि उद्धार टोली परिचालन गरिएको छ।
कठिन पहाडी भूभाग र प्रतिकूल मौसमका कारण खोजी तथा उद्धार कार्यमा चुनौती देखिएको अधिकारीहरूले बताएका छन्। मौसम तथा भौगोलिक अवस्था अनुकूल भएसम्म बेपत्ताहरूको खोजी अभियान निरन्तर सञ्चालन गरिने जनाइएको छ।
घटनाको कारण र अन्य परिस्थितिबारे रुसी अनुसन्धान समितिले छानबिन सुरु गरेको छ।














