नेपाललाई ‘ग्रे लिस्ट’बाट निकाल्न सरकारले भगीरथ प्रयास गरिरहेको छ : अर्थमन्त्री वाग्ले

Image

 अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई जोखिमपूर्ण देशको सूची (ग्रे लिस्ट) बाहिर निकाल्न सरकारले भगीरथ प्रयास गरिरहेको बताएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८औँ साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले नेपाललाई ग्रे लिष्टबाट चाँडोभन्दा चाँडो बाहिर निकाल्नको लागि अन्तर्राष्ट्रिय समुदायमा समेत पहल भइरहेको उल्लेख गरे । “सरकारले आफ्नो पक्षलाई बलियो ढंगले प्रस्तुत गर्न राष्ट्र बैंकका डेपुटी गभर्नर, महान्यायाधिवक्ता कार्यालयका सहमहान्यायाधिवक्तासहित ५–६ जनाको टोली नै परिचालन गरेका छौँ,” अर्थमन्त्री वाग्लेले भने । 

उक्त टोली हाल मलेसियामा रहेर काम गरिरहेको अर्थमन्त्री वाग्लेको भनाइ छ  । उनले एफएटीएफकै विषयमा अमेरिकी अर्थमन्त्रीसँग आफूले भेट गर्ने प्रयास गरिरहेको बताए । 

नेपाल ग्रे लिस्टबाट समयमै बाहिरिन नसके त्यसको प्रत्यक्ष असर नेपालको अन्तर्राष्ट्रिय वित्तीय विश्वसनीयता, करेस्पोन्डेन्ट बैंकिङ, लगानी वातावरण र पुँजी प्रवाहमा समेत पर्ने भएको कारण सरकार गम्भीर भएर काम गरिरहेको उनको भनाइ छ । ग्रे लिष्टबाट बाहिर निस्कन सरकारले चालिरहेको कदमबारे अफवाह फैल्याउने कार्य भइरहेको उनले बताए । 

उनले प्राकृतिक विपदबाट भएको क्षति तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनमा समेत सरकार केन्द्रित रहेको बताए । पुनर्निर्माणलाई पुरानै संरचना पुनर्निर्माण गर्ने अवसरका रूपमा मात्र नभई जलवायु उत्थानशील पूर्वाधार निर्माण गर्ने अवसरका रूपमा उपयोग गर्ने सरकारको नीति रहेको उनको भनाइ छ ।