रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव भेटियोको छ। नेपाल प्रहरीका अनुसार भेटिभेटिएका शवमध्ये १ हजार २३० जनाको पहिचान तथा आवश्यक प्रक्रिया पूरा गरी व्यवस्थापन गरिएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा बढी चितवनमा ३६४ जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा २२९, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९९ र रसुवामा १८५ जनाको शव भेटिएको छ।
त्यस्तै, गोरखामा ७७, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव भेटियोको प्रहरीले जनाएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार पहिचान हुन नसकेका शवबाट डिएनए नमुना संकलन गरी सुरक्षित रूपमा माटोमुनि राखिएको छ। मृतक तथा उनीहरूका आफन्तबाट हालसम्म ३ हजार १३२ वटा डिएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पहिचान हुन बाँकी १ हजार ३३९ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा सार्वजनिक गरिएको छ। बाढीमा परी ४ हजार ८९ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ।
प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहतका लागि नेपाल प्रहरीले ७ हजार ९७५ जना प्रहरी कर्मचारी परिचालन गरेको छ। बेपत्ता व्यक्तिको खोजी तथा शव पहिचानको कामलाई थप प्रभावकारी बनाउँदै लगिएको प्रहरीले जनाएको छ।














