इन्डोनेसियामा २४० यात्रु बोकेको जहाज सम्पर्कविहीन

Image

 २४० यात्रु सवार यात्रुवाहक जहाज आइतबार इन्डोनेसियाको जाभा सागरमा सम्पर्कविहीन भएको छ। सीएनएनका अनुसार पूर्वी जाभाको सुराबायाबाट बोर्नियो टापुको दक्षिण कालीमन्तन प्रान्तको राजधानी बन्जारमासिनतर्फ जाँदै गरेको भर्जो ट्रान्सपोर्ट ८ नामक जहाजसँग सम्पर्क टुटेको हो।

बन्जारमासिनस्थित खोज तथा उद्धार कार्यालयका अनुसार यात्राका क्रममा जहाजको सञ्चार प्रणाली अवरुद्ध भएपछि त्यससँग सम्पर्क हुन सकेको छैन। उद्धार अधिकारीहरूले जहाजको अन्तिम लोकेसन बन्जारमासिनको घाटबाट करिब १४८ किलोमिटर टाढा जाभा सागर क्षेत्रमा रहेको संकेत पाएका छन्।

जहाज सम्पर्कविहीन भएपछि इन्डोनेसियाली अधिकारीहरूले तत्काल खोज तथा उद्धार अभियान सुरु गरेका छन्। जहाजमा रहेका यात्रु तथा चालक दलका सदस्यको अवस्थाबारे भने अहिलेसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।

इन्डोनेसियामा यसअघि पनि यात्रुवाहक जहाज तथा फेरी दुर्घटनाका ठूला घटना भएका छन्। सन् १९८१ मा ट्याम्पोमास–२ यात्रुवाहक जहाज जाभा सागरमा डुब्दा ४३० जनाको मृत्यु भएको थियो।

त्यस्तै, सन् २००६ मा खराब मौसमका कारण सेनोपति नुसान्तारा यात्रुवाहक डुंगा जाभा सागरमा डुब्दा ४०० भन्दा बढी मानिसको मृत्यु वा बेपत्ता भएका थिए। सन् २००७ मा लेभिना–१ फेरीमा आगलागी हुँदा ५० भन्दा बढी मानिसको मृत्यु भएको थियो।

यसैगरी, सन् २०१८ मा दक्षिण सुलावेसीमा लेस्टारी माजु फेरी डुब्दा ३६ जनाको मृत्यु भएको थियो।

हाल भर्जो ट्रान्सपोर्ट ८ को खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ। अधिकारीहरूले जहाजको अवस्थाबारे थप विवरण संकलन तथा खोजी कार्यलाई तीव्र बनाएका छन्।