रुकुम पश्चिममा आइतबार बिहान जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य नौ जना घाइते भएका छन्।
जिल्ला प्रहरी प्रमुख डिएसपी बेदबहादुर पौडेलका अनुसार दुर्घटनामा चालक र एक महिलाको घटनास्थलमै मृत्यु भएको हो। मृतक दुवैको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा चार जना गम्भीर र पाँच जना मध्यम घाइते भएका छन्। घाइतेहरूको उद्धार तथा उपचारका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ।
आइतबार बिहान करिब सवा ८ बजे सानीभेरी गाउँपालिका–६ कोटबाट जिल्ला सदरमुकाम खलंगातर्फ जाँदै गरेको लु १ च ६०२९ नम्बरको डबल क्याप जिप सडकबाट करिब १०० मिटर तल भीरमा खसेको हो।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हेमन्त गिरीले आफू र डिएसपी पौडेल घटनास्थलतर्फ जाँदै गरेको जानकारी दिए। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।
गम्भीर घाइतेको अवस्था हेर्दा मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसअघि शनिबार बिहान पनि छिमेकी जिल्ला सल्यानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो। उक्त दुर्घटनामा घाइते भएका थप तीन जनाको दाङमा उपचार भइरहेको छ।













