तनावका बीच होर्मुजमा नयाँ आवतजावत मार्ग निर्धारण गर्न इरान र ओमान सहमत

Image

पश्चिम एसियामा जारी तीव्र तनावका बीच इरान र ओमान होर्मुज जलमार्गमा आवतजावतका नयाँ मार्ग निर्धारण गर्न सहमत भएका छन् ।  

तस्निम समाचार संस्थाका अनुसार, इरानी अधिकारीहरूले शनिबार इरान र ओमान हर्मुज जलमार्गका लागि नयाँ प्रवेश तथा निकास मार्गमा सहमत भएको जानकारी दिएका हुन् ।

इरानी अधिकारीहरूका अनुसार, आउँदो सोमबार ओमानको राजधानी मस्कटमा हुने क्षेत्रीय बैठकमा खाडी देशहरूसँग उक्त सहमतिको विवरण र वार्ताका निष्कर्ष साझा गरिने बताइएको छ ।

पश्चिम एसियामा तनाव बढिरहेका बेला होर्मुज जलमार्ग अन्तर्राष्ट्रिय तथा क्षेत्रीय चासोको प्रमुख केन्द्र बनेको छ । यही पृष्ठभूमिमा इरान र ओमानबीच नयाँ प्रवेश तथा निकास मार्ग निर्धारण गर्ने सहमति भएको हो । 

रिपोर्टअनुसार, दुवै देशबीच भएको व्यापक छलफलपछि नयाँ मार्गबारे सहमति जुटेको हो । यसको विस्तृत जानकारी मस्कटमा हुने क्षेत्रीय बैठकमा खाडी देशहरूलाई दिइने बताइएको छ ।

यसअघि इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का नयाँ प्रमुख मोहसिन रेजाईले होर्मुज जलमार्गबाहिर ‘प्रतिबन्धित प्रवेश क्षेत्र’ घोषणा गर्ने योजना रहेको बताएका थिए । 

उक्त क्षेत्रको उद्देश्य होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने क्रममा इरानलाई शंका लागेका जहाजलाई रोक्नु वा निगरानीमा राख्नु रहेको बताइएको थियो ।

रेजाईले यो प्रतिबन्धित क्षेत्र अमेरिकी नौसेनाको नाकाबन्दीको सीमाबाट सुरु भएर होर्मुज जलमार्ग हुँदै पर्सियन खाडीतर्फ फैलिने बताए । उनले होर्मुज पार गर्ने उद्देश्यले उक्त क्षेत्रमा प्रवेश गर्ने र पहिचान हुने जुनसुकै जहाजलाई इरानको प्रतिबन्धित सूचीमा राखिने बताएका थिए ।

यसैबीच, अमेरिकाले हालै इरानी तेल ट्यांकरमाथि आक्रमण गरेको थियो । इरानले अमेरिकी युद्धपोतमाथि ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि अमेरिकाले जवाफी कारबाही गरेको बताइएको थियो ।

विश्लेषकहरूले इरान र अमेरिकाबीचको यस्तो सैन्य गतिविधिलाई क्षेत्रीय तनाव थप बढाउने जोखिमपूर्ण कदमका रूपमा व्याख्या गरेका थिए । होर्मुज जलमार्गमा व्यापारिक जहाजको आवतजावत र सुरक्षा यसै कारण थप संवेदनशील बनेको छ ।